२०८३ बैशाख २२ गते मङ्गलवार

दर्ता नभए फेसबुक, इन्स्टाग्राम बन्द गरिने सञ्चारमन्त्री गुरुङको चेतावनी।



वैशाख १२ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गरिने कडा चेतावनी दिएका छन्। एक सार्वजनिक कार्यक्रममा बोल्दै उनले फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएपजस्ता मेटाका सामाजिक सञ्जालहरू अझै नेपालमा दर्ता नभएको भन्दै, दर्ता नगरेमा ती प्लेटफर्महरू नेपालमा चल्न नदिने बताएका हुन्।

उनले भने, “हामीले मेटालाई बोलाइरहेका छौँ, आउँछ कि आउँदैन, हेर्न बाँकी छ। आएन भने नेपालमा चल्न दिन्नौँ।” मन्त्री गुरुङका अनुसार अहिले नेपालमा आधिकारिक रूपमा दर्ता भएर सञ्चालनमा रहेको सामाजिक सञ्जालमध्ये टिकटकमात्र दर्ता भएको छ। बाँकी सामाजिक सञ्जालहरूलाई नेपाल सरकारसँग अनिवार्य रूपमा दर्ता हुनुपर्ने उनले स्पष्ट पारे।

सञ्चारमन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने गतिविधि बढेको भन्दै त्यसलाई रोक्न सरकारले विशेष पहल सुरु गरेको बताए। यस्तै अभिव्यक्तिहरू नियन्त्रण गर्न ‘सामाजिक सञ्जालसम्बन्धी विधेयक’ तयार पारिएको जानकारी उनले दिए।

उनले भने, “सामाजिक सञ्जाल अराजक बन्दै गएको छ। आम नागरिकले नै यसलाई नियन्त्रण गर्नुपर्छ भनेका छन्। त्यसैले हामी विधेयक लिएर आएका हौं।”

मन्त्री गुरुङको भनाइअनुसार उक्त विधेयकमार्फत सामाजिक सञ्जाललाई नियमन गर्ने, आपत्तिजनक सामग्रीमा निगरानी राख्ने, र कानुनी जिम्मेवारी सुनिश्चित गर्ने लक्ष्य लिइएको छ। सरकारले ल्याउन लागेको विधेयकले दर्ता, नियमन र कारबाही प्रक्रिया सबै स्पष्ट रूपमा निर्धारण गर्नेछ।

यस घोषणालाई कतिपयले सकारात्मक रुपमा लिएर सामाजिक सञ्जाल नियमन आवश्यक भएको बताएका छन् भने, कतिपयले भने अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लाग्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

नेपाल सरकारले अब डिजिटल प्लेटफर्महरूलाई पनि कानुनी दायरामा ल्याउन खोजिरहेको सन्देश यो चेतावनीमार्फत प्रस्ट भएको छ। अब हेर्न बाँकी छ — मेटा लगायतका कम्पनीहरूले नेपाल सरकारको आह्वान स्वीकार्छन् वा सामाजिक सञ्जालमा प्रतिबन्ध लाग्ने नयाँ युग सुरु हुन्छ।

प्रकाशित मिति : २०८२ बैशाख १२ गते शुक्रवार