कालीकोट, साउन ८।
रास्कोट नगरपालिका र निक साइमन्स इन्स्टिच्युट (NSI) बीच ग्रामीण स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजना (RHSSP) कार्यान्वयनका लागि पाँच वर्षे संस्थागत सहकार्य सम्झौता भएको छ।
सम्झौताअनुसार सन् २०२६ जुलाई १७ (वि.सं. २०८३ साउन १) देखि सन् २०३१ जुलाई १७ (वि.सं. २०८८ असार ३२) सम्म ग्रामीण स्वास्थ्य प्रणाली सुदृढीकरण कार्यक्रम सञ्चालन गरिनेछ। उक्त कार्यक्रममार्फत रास्कोट नगरपालिकाअन्तर्गत सञ्चालित रास्कोट अस्पतालको स्वास्थ्य सेवा थप प्रभावकारी, गुणस्तरीय र दिगो बनाइने लक्ष्य राखिएको छ।

सम्झौताअन्तर्गत निक साइमन्स इन्स्टिच्युटले आवश्यक चिकित्सकीय जनशक्ति, प्राविधिक सहयोग, तालिम, स्वास्थ्य उपकरण, न्यूनतम सेवा मापदण्ड (MSS) कार्यान्वयन तथा अस्पतालको क्षमता अभिवृद्धिमा सहयोग गर्नेछ। साथै आकस्मिक सेवाका लागि आवश्यक सहयोग, अस्पतालको मूल्याङ्कन तथा स्वास्थ्यकर्मीको सीप विकासका कार्यक्रमसमेत सञ्चालन गरिनेछ।
यस्तै, रास्कोट नगरपालिकाले कार्यक्रम कार्यान्वयनका लागि आवश्यक समन्वय, स्वास्थ्यकर्मीको व्यवस्थापन, सुरक्षित कार्य वातावरण, आवास, प्रशासनिक सहयोग तथा न्यूनतम सेवा मापदण्ड सुधारका लागि आवश्यक सहयोग उपलब्ध गराउनेछ।
सम्झौतामा अस्पतालको नियमित अनुगमन, सामाजिक परीक्षण, सार्वजनिक सुनुवाइ, वार्षिक कार्ययोजना निर्माण तथा स्वास्थ्य सेवाको दिगोपन सुनिश्चित गर्न दुवै पक्षले संयुक्त रूपमा काम गर्ने उल्लेख गरिएको छ।
सम्झौतामा निक साइमन्स इन्स्टिच्युटका कार्यकारी निर्देशक डा. अर्चना अमात्य, रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले हस्ताक्षर गरेका छन्। साक्षीका रूपमा निक साइमन्स इन्स्टिच्युटका डा. मोहम्मद काशिम शाह र रास्कोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश अधिकारी रहेका छन्।
यस सहकार्यले रास्कोट नगरपालिकाअन्तर्गत रहेको रास्कोट अस्पतालमा गुणस्तरीय तथा प्रभावकारी स्वास्थ्य सेवा विस्तार, दक्ष जनशक्ति व्यवस्थापन तथा ग्रामीण भेगका नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।









प्रतिक्रिया दिनुहोस्