महावै–५ गेलास्थित कालिका माविमा निःशुल्क शैक्षिक तथा खेलकुद सामग्री वितरण
कालिकोट । महावै गाउँपालिका–५, गेलामा रहेको कालिका माध्यमिक विद्यालयमा विद्यार्थी, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका लागि निःशुल्क शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ।
२००९ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल ३९ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेका छन्। विद्यालयमा व्यक्तिगत रूपमा निःस्वार्थ सहयोग गर्दै विद्यार्थीलाई खेलकुद क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्यले भलिबल, नेटलगायतका खेलकुद सामग्री प्रदान गरिएको हो।
त्यसैगरी विद्यालयका ३९ जना शिक्षक–कर्मचारी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष र वडा अध्यक्षलाई गरी ४१ थान डायरी तथा पेन वितरण गरिएको छ। विद्यालय व्यवस्थापन समितिका निर्णयहरू व्यवस्थित रूपमा अभिलेख राख्नका लागि मिनेटिङ रजिस्टर तथा डायरीसमेत हस्तान्तरण गरिएको छ।
सहयोगको मुख्य उद्देश्य विद्यार्थीमा खेलकुदप्रति उत्साह, रुचि र क्षमता विकास गर्नु, शिक्षक–कर्मचारीलाई शिक्षण कार्यमा डायरीको प्रयोगमार्फत थप प्रोत्साहित गर्नु तथा विद्यालय व्यवस्थापन समितिका निर्णयलाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्नु रहेको सहयोगदाताले बताएका छन्।
‘निःशुल्क र निःस्वार्थ सहयोग गर्ने मेरो हृदयमा कहिल्यै अभाव नहोस्’ भन्ने भावना व्यक्त गर्दै सहयोगदाताले विद्यालय परिवारबाट प्राप्त न्यानो माया र सम्मानप्रति धन्यवादसमेत दिएका छन्।
विद्यालयमा गरिएको यस्तो सहयोगले विद्यार्थीको खेलकुद गतिविधि तथा शिक्षण–सिकाइ वातावरणमा सकारात्मक प्रभाव पार्दै विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा योगदान पुग्ने अपेक्षा गरिएको छ।









प्रतिक्रिया दिनुहोस्