२०८३ बैशाख २२ गते मङ्गलवार

२६ औं दिनमा शिक्षक आन्दोलन चर्कियो, प्रहरीसँग भीषण झडप : पानीको फोहरा र लाठीचार्ज, १५ जना घाइते।



वैशाख १४ —
शिक्षक आन्दोलनको २६ औं दिनमा राजधानीको माइतीघर मण्डलामा अवस्था तनावपूर्ण बनेको छ। आन्दोलनरत शिक्षकहरू र सुरक्षाकर्मीबीच भीषण झडप हुँदा १५ जना घाइते भएका छन्।

शिक्षकहरूले सरकारसँग राखिएको आफ्ना माग सुनुवाइ नभएको भन्दै बिहानैदेखि प्रदर्शन गरिरहेका थिए। प्रदर्शन नियन्त्रण गर्न प्रहरी परिचालित भएपछि स्थिति झनै बिग्रिएको थियो। प्रहरीले भीड तितरबितर पार्न पानीको फोहरा र लाठीचार्ज प्रयोग गरेको छ।

प्रहरीको कडा हस्तक्षेपका क्रममा १५ जना आन्दोलनकारी घाइते भएका छन्। घाइतेमध्ये सामान्य अवस्थाका आन्दोलनकारीहरूलाई सिभिल अस्पतालमा उपचार गराइएको छ भने अवस्था गम्भीर भएका ५ जनालाई थप उपचारका लागि ट्रमा सेन्टरमा सारिएको छ।

प्रत्यक्षदर्शीहरूका अनुसार सुरक्षाकर्मीले एकैसाथ पानीको फोहरा प्रहार गर्दै लाठीचार्ज गरेका थिए, जसले गर्दा आन्दोलनकारीहरू भागदौडमा परेर झन् धेरै घाइते हुन पुगे।

आन्दोलनरत शिक्षकहरूले सरकारले वार्ताको पहल नगरी बल प्रयोग गरेकामा आक्रोश व्यक्त गरेका छन्। उनीहरूले अझ कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन्। उता, प्रहरी प्रशासनले भने भीड नियन्त्रण र शान्ति सुरक्षाको लागि आवश्यक कदम चाल्नुपरेको बताएको छ।

शिक्षकहरूले आफ्ना पेशागत अधिकार र सुधारको माग गर्दै देशभर आन्दोलन चर्काइरहेका छन्। राजधानीसँगै अन्य जिल्लाहरूमा पनि आन्दोलन व्यापक बन्दै गएको छ।

प्रकाशित मिति : २०८२ बैशाख १४ गते आइतवार