२०८३ असोज १७ गते शनिवार

कर्णालीकी पहिलो महिला एसियन गेम्स खेलाडी बिनिता पण्डित–क्षेत्री



कालिकोट । कर्णाली प्रदेशबाट महिला कबड्डी खेलमा एसियन गेम्ससम्मको यात्रा तय गर्ने खेलाडीका रूपमा बिनिता पण्डित–क्षेत्रीले नयाँ इतिहास बनाएकी छन्। वीरेन्द्रनगर नगरपालिका–१२, नेवारे सोती टोल, सुर्खेतकी बिनिताले विद्यालय तहको कक्षा ७–८ देखि नै कबड्डी खेल्न सुरु गरेकी हुन्।
विद्यालय तहदेखि खेल क्षेत्रमा सक्रिय बिनिता निरन्तर मेहनत र लगनशीलताका साथ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितासम्म पुग्न सफल भएकी हुन्। हालसम्म उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका महत्वपूर्ण चार प्रतियोगितामा सहभागिता जनाइसकेकी छन्।
बिनिताले सन् २०२५ मा इरानको तेहरानमा सम्पन्न छैटौँ महिला एसियन कबड्डी च्याम्पियनसिपमा नेपालबाट सहभागिता जनाउँदै कांस्य पदक जितेकी थिइन्। उक्त प्रतियोगितामा उनी नेपाली टोलीको सदस्य थिइन्।
त्यसैगरी, सन् २०२५ मा आयोजित दोस्रो महिला कबड्डी विश्वकपमा समेत उनले नेपालको प्रतिनिधित्व गरिन्। विश्वकपका लागि छनोट भएको नेपाली टोलीमा बिनिता पण्डित–क्षेत्रीको नाम समावेश थियो।
सन् २०२६ मा बंगलादेशमा भएको दोस्रो महिला टेस्ट सिरिजमा नेपालका तर्फबाट सहभागिता जनाएकी बिनिताले अन्तर्राष्ट्रिय अनुभवलाई थप फराकिलो बनाइन्।
उनको खेलयात्राको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा सन् २०२६ मा जापानको आइची–नागोयामा सम्पन्न २०औँ एसियन गेम्समा नेपालको महिला कबड्डी टोलीबाट सहभागिता रह्यो। एसियन गेम्समा नेपालले महिला कबड्डीमा कांस्य पदक जितेको छ।
कक्षा ७–८ बाट कबड्डी खेल्न सुरु गरेकी बिनिताको यात्रा विद्यालयको खेलमैदान हुँदै राष्ट्रिय टोली र एसियन गेम्ससम्म पुगेको हो। उनको यो यात्राले कर्णालीमा महिला कबड्डी खेलको सम्भावना र प्रतिभालाई समेत उजागर गरेको छ।

विद्यालय तहबाट सुरु भएको कबड्डी यात्रा, राष्ट्रिय टोली हुँदै एसियन गेम्ससम्म सहभागी हुने बिनिता पण्डित-क्षेत्रीलाई थप सफलताको शुभकामना ।

प्रकाशित मिति : २०८३ असोज १२ गते सोमवार