काठमाडौं । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा कालिकोटबाट प्रतिनिधिसभा सदस्य महेन्द्रबहादुर शाही श्रीलंका, मलेसिया र जापानस्थित नेपाली कूटनीतिक नियोगहरूको अध्ययन तथा अवलोकन भ्रमण सम्पन्न गरी स्वदेश फर्किनुभएको छ।
भ्रमणका क्रममा ती तीन देशस्थित नेपाली राजदूतावासहरूको भौतिक पूर्वाधार, जनशक्तिको अवस्था, आर्थिक तथा प्रशासनिक व्यवस्थापन, सेवा प्रवाह तथा कार्यसम्पादनलगायत विषयमा अध्ययन तथा सम्बन्धित पक्षसँग छलफल गरिएको सांसद शाहीले बताउनुभएको छ।
त्यस्तै, सम्बन्धित देशमा रहेका नेपाली नागरिकहरूको अवस्था, उनीहरूले भोगिरहेका समस्या, अध्ययन तथा रोजगारीका अवसर र चुनौती, व्यापारिक गतिविधि तथा नेपालको द्विपक्षीय कूटनीतिक सम्बन्धका विभिन्न पक्षबारे समेत जानकारी लिइएको उहाँले उल्लेख गर्नुभएको छ।
सांसद शाहीका अनुसार विदेशमा रहेका नेपाली नागरिक नेपालको राष्ट्रिय पहिचान, श्रम, सीप, ज्ञान, पुँजी तथा सम्भावनाका महत्वपूर्ण स्रोत हुन्। उनीहरूको हकहित संरक्षण, समस्या समाधान, सुरक्षित रोजगारी, सहज कन्सुलर सेवा तथा सम्मानजनक जीवनयापन सुनिश्चित गर्नु राज्यको महत्वपूर्ण दायित्व रहेको उहाँको भनाइ छ।
यसका लागि नेपाली कूटनीतिक नियोगहरू सक्षम, पर्याप्त स्रोतसाधनयुक्त, प्रविधिमैत्री तथा उत्तरदायी हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ।
भ्रमणका क्रममा देखिएका समस्या, प्राप्त सुझाव तथा अध्ययनबाट प्राप्त निष्कर्षहरूलाई व्यवस्थित रूपमा सम्बन्धित संसदीय समितिमा प्रस्तुत गरी सरकारको ध्यानाकर्षण गराइने सांसद शाहीले बताउनुभएको छ। आवश्यक नीतिगत, संस्थागत, जनशक्तिगत तथा बजेटीय सुधारका लागि संसदीय समितिमार्फत सरकारलाई सुझाव तथा निर्देशन दिन पहल गरिने पनि उहाँले उल्लेख गर्नुभएको छ।
सांसद शाहीले कूटनीतिक नियोगहरू केवल औपचारिक सम्बन्ध कायम गर्ने निकाय मात्र नभई विदेशमा रहेका नेपाली नागरिकका लागि राज्यको उपस्थिति, भरोसा र अभिभावकत्वको अनुभूति गराउने महत्वपूर्ण संस्था भएको बताउनुभएको छ।
विदेशमा रहेका प्रत्येक नेपालीले आफ्नो देश र सरकारलाई नजिकबाट अनुभूति गर्न सक्ने वातावरण निर्माण गर्नु आजको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले भ्रमणबाट प्राप्त अनुभव तथा निष्कर्षलाई व्यवहारमा रूपान्तरण गर्न संसदीय समिति र सरकारबीच प्रभावकारी समन्वय तथा पहल आवश्यक रहेको बताउनुभएको छ।









प्रतिक्रिया दिनुहोस्