२०८३ मङ्सिर १ गते सोमवार

तिलागुफामा प्रथम उपप्रमुख कप क्रिकेट प्रतियोगिताको भव्य उद्घाटन



कालिकोट । तिलागुफा नगरपालिकाको आयोजनामा सञ्चालन गरिएको प्रथम उपप्रमुख कप क्रिकेट प्रतियोगिता भव्य समारोहका बीच उद्घाटन गरिएको छ।
नगरपालिका क्रिकेट संघका अध्यक्ष नरेश शाहीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय टेक राज पछाई प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने तिलागुफा नगरपालिकाका नगर उपप्रमुख महेन्द्र बहादुर शाही विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री टेक राज पछाईले खेलकुद युवाहरूको प्रतिभा प्रस्फुटन गर्ने, अनुशासन कायम गर्ने तथा आपसी एकता र सद्भाव विकास गर्ने महत्वपूर्ण माध्यम भएको बताउनुभयो। उहाँले खेलकुद क्षेत्रको समग्र विकासका लागि स्थानीय तह, प्रदेश सरकार तथा सरोकारवाला निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।
त्यसैगरी, विशेष अतिथि तथा नगर उपप्रमुख महेन्द्र बहादुर शाहीले खेलकुद केवल मनोरञ्जनको माध्यम मात्र नभई युवाहरूको क्षमता, प्रतिभा, अनुशासन तथा नेतृत्व विकास गर्ने महत्वपूर्ण आधार भएको बताउनुभयो।
उहाँले तिलागुफा नगरपालिकाभित्र रहेका खेल प्रतिभाहरूको पहिचान, संरक्षण र प्रोत्साहन गर्दै खेलकुद क्षेत्रलाई थप व्यवस्थित तथा संस्थागत रूपमा विकास गर्ने उद्देश्यले प्रथम उपप्रमुख कप क्रिकेट प्रतियोगिता आयोजना गरिएको स्पष्ट पार्नुभयो।
नगर उपप्रमुख शाहीले प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरूलाई खेल भावना, अनुशासन र आपसी सद्भाव कायम राख्दै उत्कृष्ट प्रदर्शन गर्न आग्रह गर्नुभयो। साथै, खेलकुदको माध्यमबाट तिलागुफा नगरपालिकालाई राष्ट्रिय स्तरमा चिनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, खेलप्रेमी, खेलाडी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
यस प्रतियोगिताले स्थानीय स्तरमा क्रिकेट खेलको विकास गर्नुका साथै नयाँ खेल प्रतिभाको पहिचान, संरक्षण र प्रोत्साहन गर्दै युवाहरूमा खेलप्रतिको आकर्षण बढाउनुका साथै महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। साथै तीन दिनसम्म चल्ने यो प्रतियोगिताको अम्पायर पबन बम देवजङ्ग शाहीले गर्नुहुनेछ ।

प्रकाशित मिति : २०८३ कार्तिक २७ गते बिहिवार