२०८३ मङ्सिर १ गते सोमवार

देउसी–भैलोमा हुड्के नाचको नयाँ अभ्यास, नरहरिनाथ–९ मा सांस्कृतिक जागरण



{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"edited_since_last_sticker_save":false,"containsFTESticker":false,"is_sticker":false}

कालिकोट । कर्णालीको मौलिक लोकसंस्कृति तथा सांस्कृतिक पहिचानका रूपमा रहेको हुड्के नाच पछिल्लो समय युवापुस्तामाझ आकर्षणको केन्द्र बन्दै गएको छ। मौलिक कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले जि गाउँ एकता फाउन्डेशनले नरहरिनाथ गाउँपालिका–९, लालुमा आयोजना गरेको देउसी–भैलो कार्यक्रममा पहिलोपटक हुड्के नाच प्रस्तुत गरिएको छ।
परम्परागत रूपमा निश्चित जाति तथा समुदायसँग जोडेर हेरिँदै आएको हुड्के नाचलाई सबै जातजाति र समुदायको साझा सांस्कृतिक सम्पदाका रूपमा स्थापित गर्ने उद्देश्यले फाउन्डेशनले देउसी–भैलो कार्यक्रममा विशेष प्राथमिकता दिएको हो।
हुड्के नाच कुनै एउटा जाति वा समुदायको मात्र पहिचान नभई सम्पूर्ण नागरिकले अपनत्व ग्रहण गर्दै संरक्षण र संवर्द्धन गर्नुपर्ने मौलिक सम्पदा भएको सन्देश कार्यक्रममार्फत प्रवाह गरिएको आयोजकले जनाएको छ। जातीय संकुचित सोचभन्दा माथि उठेर कला, संस्कृति र परम्पराको संरक्षणमा सबैको समान सहभागिता आवश्यक रहेको फाउन्डेशनको भनाइ छ।
कार्यक्रममा हुड्के नाच प्रस्तुत गर्ने धर्मराज शाहीले गाउँघरमै आफ्नै घरआँगनमा हुड्के नाच प्रस्तुत गर्न पाउँदा विशेष खुसी र गर्वको अनुभूति भएको बताउनुभयो। यसअघि अरूले प्रस्तुत गरेको नाच दर्शकका रूपमा हेर्दै आउनुभएका उहाँले यसपटक आफैँ सहभागी भएर प्रस्तुति दिन पाउँदा नयाँ अनुभव प्राप्त भएको बताउनुभयो। मौलिक कला र संस्कृतिको संरक्षणका लागि अब आफैँ पनि सक्रिय हुनुपर्ने उहाँको भनाइ छ।
त्यस्तै, हुड्के नाचमा सहभागी बिल्केश शाहीले पनि यसमा सहभागी हुँदा नयाँ र नौलो अनुभूति भएको बताउनुभयो। हुड्के नाच कुनै एउटा जाति वा समुदायको मात्र नभई सबै जातजाति र नागरिकको साझा सांस्कृतिक सम्पदा भएकाले यसको संरक्षणमा सबैको भूमिका महत्त्वपूर्ण हुने उहाँले धारणा राख्नुभयो।
जि गाउँ एकता फाउन्डेशनका अध्यक्ष महेन्द्र वीरविक्रम शाहीले गाउँमा बेरोजगार भएर बसेका तथा लागूऔषध दुर्व्यसनको जोखिममा रहेका युवाहरूलाई एकै ठाउँमा संगठित गर्दै सामाजिक, रचनात्मक र सकारात्मक गतिविधिमा सक्रिय बनाउने उद्देश्य संस्थाले लिएको बताउनुभयो।
उहाँका अनुसार फाउन्डेशनको कला तथा संस्कृति संरक्षण अभियानअन्तर्गत दुई दिनसम्म हुड्के नाच प्रस्तुत गरिएको हो। कार्यक्रमप्रति स्थानीय नागरिकबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि यस्ता मौलिक सांस्कृतिक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यस्तै, फाउन्डेशनका मुख्य संयोजक आदर्श जङ्ग शाहीका अनुसार नरहरिनाथ गाउँपालिका–९ मा देउसी–भैलो कार्यक्रममार्फत हुड्के नाच प्रस्तुत गरिएको यो पहिलो अवसर हो। कार्यक्रमले स्थानीय नागरिक तथा युवापुस्तामा सकारात्मक उत्साह जगाउनुका साथै सामाजिक सञ्जालमा समेत चर्चा पाएको उहाँले बताउनुभयो।
मौलिक कला र संस्कृतिलाई गाउँमा मात्र सीमित नराखी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउनुपर्नेमा जोड दिँदै उहाँले नयाँ पुस्तामा सांस्कृतिक चेतना र रुचि बढाउन आवश्यक तालिम, अभ्यास तथा प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो।
दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा स्थानीय नागरिक, युवापुस्ता तथा दर्शकहरूको उल्लेखनीय सहभागिता र चासो देखिएको थियो। सामाजिक सञ्जालमा समेत हुड्के नाचका भिडियो तथा तस्बिर सार्वजनिक भएपछि विभिन्न क्षेत्रबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको आयोजकले जनाएको छ।
आधुनिक मनोरञ्जनका माध्यमप्रति आकर्षित हुँदै गएको युवापुस्ताले आफ्नै मौलिक कला र संस्कृतिप्रति चासो देखाउनु सकारात्मक संकेतका रूपमा हेरिएको छ। यसले हुड्के नाचको संरक्षण, पुस्तान्तरण र प्रवर्द्धनका लागि नयाँ सम्भावनासमेत सिर्जना गरेको छ।
समग्रमा, जि गाउँ एकता फाउन्डेशनद्वारा आयोजित देउसी–भैलो कार्यक्रम मनोरञ्जनमा मात्र सीमित नरही मौलिक संस्कृति संरक्षण, जातीय एकता, सामाजिक सद्भाव र युवाको रचनात्मक सहभागितालाई जोड्ने उदाहरणीय प्रयास बनेको छ।

प्रकाशित मिति : २०८३ मङ्सिर १ गते सोमवार