२०८३ मङ्सिर १ गते सोमवार

दैलेखमा जीप दुर्घटना : दुई जनाको मृत्यु, चार जना गम्भीर घाइते



कालिकोट। दैलेखको गुराँस गाउँपालिका–१, काफलतोलीस्थित कर्णाली राजमार्गमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा कालिकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–६ निवासी वर्ष ४१ का रने सार्की र जीप चालक सान्नीत्रिवेणी गाउँपालिका–७ निवासी वर्ष २२ का योगेश सिंखडा रहेका छन्। रने सार्कीको बिहान ८:५६ बजे उपचारका क्रममा मृत्यु भएको थियो भने गम्भीर घाइते रहेका चालक योगेश सिंखडाको पनि उपचारका क्रममा मृत्यु भएको हो।
आज बिहान करिब ५:३० बजे, कालिकोटबाट विषादी सेवन गरेकी बिरामीलाई अक्सिजन सिलिन्डरसहित थप उपचारका लागि सुर्खेततर्फ लैजाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना भएको थियो।
दुर्घटनामा गम्भीर घाइते हुनेमा सान्नीत्रिवेणी गाउँपालिका–७ निवासी वर्ष १८ का गंग सार्की रहेका छन्। उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। सोही ठाउँका वर्ष २१ का तपेन्द्र सिंखडाको पनि शरीरका विभिन्न भागमा चोट लागेको छ।
त्यस्तै, सान्नीत्रिवेणी गाउँपालिका–६ निवासी वर्ष ३६ की जादुकाल सार्की र वर्ष २७ की कैसी सार्की पनि गम्भीर घाइते भएका छन्। विषादी सेवन गरी उपचारका लागि सुर्खेत लैजाँदै गरिएकी बिरामी कैसी सार्कीको समेत शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ।
दुर्घटनापछि सबै घाइतेलाई तत्काल उद्धार गरी थप उपचारका लागि सुर्खेत पठाइएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको सम्बन्धित निकायले जनाएको छ।

प्रकाशित मिति : २०८३ कार्तिक २४ गते सोमवार