कालिकोट । रास्कोटवासी तथा आसपासका क्षेत्रका बासिन्दाका लागि खुसीको खबर प्राप्त भएको छ। त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको कार्यकारी परिषद्को मिति २०८३ कार्तिक २१ गतेको निर्णयअनुसार रास्कोट बहुमुखी क्याम्पस, रास्कोट कालिकोटले शिक्षा संकाय सञ्चालनका लागि सम्बन्धन प्राप्त गरेको छ।
यससँगै रास्कोटवासीले वर्षौँदेखि देख्दै आएको उच्च शिक्षाको सपना साकार भएको बताइएको छ। स्थानीयस्तरमै शिक्षा संकाय सञ्चालन हुने भएपछि रास्कोट तथा आसपासका विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययनका लागि टाढा जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।
क्याम्पसलाई सम्बन्धन दिलाउन प्रतिनिधिसभा सदस्य महेन्द्र बहादुर शाही, रास्कोट नगरपालिका, नगरप्रमुख धर्मराज शाही, नगर कार्यपालिका, प्रमुख प्रशासकीय अधिकृत महेश अधिकारी, बडिमालिका माध्यमिक विद्यालय परिवार, रास्कोटस्थित सम्पूर्ण राजनीतिक दल, सम्भाव्यता अध्ययन टोली, त्रिभुवन विश्वविद्यालय शिक्षा डिन कार्यालय, योजना निर्देशनालयका निर्देशक लक्ष्मीराम शर्मा तथा सम्पूर्ण रास्कोटवासी सरोकारवालाहरूको महत्वपूर्ण सहयोग र भूमिका रहेको जनाइएको छ।
सबै पक्षको संयुक्त प्रयास र सहकार्यबाट यो सफलता हासिल भएको भन्दै सम्बन्धित सबैप्रति आभार व्यक्त गरिएको छ।
शिक्षा संकायको सम्बन्धनसँगै आगामी दिनमा कानुन संकायलगायत अन्य फ्याकल्टीहरू थप गर्ने मार्गसमेत प्रशस्त भएको बताइएको छ। साथै, निकट भविष्यमा रास्कोट बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहको कक्षा सञ्चालन गर्ने सम्भावनाको ढोका समेत खुलेको रास्कोट नगरपालिका उप-प्रमुख मनिराज बरालले बताउनु भएको छ।









प्रतिक्रिया दिनुहोस्