— एक संक्षिप्त जीवन–स्मरण
नामझैँ आफ्नो कर्ममा पनि ‘योद्धा’ बनेर उभिन सफल क. अमरबहादुर विश्वकर्मा ‘योद्धा’ नेपाली जनयुद्धका एक कुशल तथा होनहार सैन्य कमाण्डरका रूपमा स्मरण गरिनुहुन्छ। छोटो राजनीतिक जीवनमै सैन्य क्षेत्रमा महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आफ्नो छुट्टै पहिचान बनाउन सफल उहाँको जीवन संघर्ष, त्याग र समर्पणले भरिएको थियो।
क. योद्धाको जन्म वि.सं. २०३३ साल फागुन १४ गते कालिकोट जिल्लाको तत्कालीन माल्कोट गाविस–४, सल्लारूखमा बुबा पहले विश्वकर्मा र आमा भ्यार्की विश्वकर्माको कोखबाट भएको थियो। गरिब किसान परिवारमा जन्मनुभएका उहाँले बाल्यकालदेखि नै गरिबी, अभाव र सामाजिक उत्पीडनको अनुभव गर्नुपरेको थियो।
दुई दाजु र दुई बहिनीका साइँलो भाइ क. योद्धाले प्रारम्भिक शिक्षा आफ्नै गाउँ सेरापाटाबाट लिनुभयो भने माध्यमिक तहको अध्ययन नन्दादेवी माध्यमिक विद्यालय, कोटबाडामा गर्नुभयो। अध्ययनमा तीक्ष्ण तथा मेहनती उहाँ स्वभावले विद्रोहीसँगै मिलनसार पनि हुनुहुन्थ्यो। खेलकुद र साहित्यमा विशेष रुचि राख्ने क. योद्धाले विद्यार्थी जीवनदेखि नै राजनीतिक यात्रा प्रारम्भ गर्नुभयो।
राजनीतिक यात्राको सुरुवात
क. योद्धा वि.सं. २०४७ सालदेखि जनमोर्चामा आबद्ध हुनुभयो। त्यसपछि करिब २०४९ सालतिर नेकपा (मशाल) समर्थित अखिलको शान्ति माध्यमिक विद्यालय, कोटबाडा एकाइ समितिमा संगठित हुनुभयो।
त्यस समयको चर्चित कोटबाडा ‘झा’ काण्डमा सहभागी भएको आरोपमा उहाँ हिरासतमा समेत पर्नुभयो। त्यसपछि उहाँको राजनीतिक यात्रा अझ सक्रिय बन्दै गयो। २०५१ सालमा वाइसिएल जिल्ला समिति सदस्य बन्नुभएका क. योद्धा जनयुद्धको सुरुवातसँगै २०५२ सालमा पार्टी सदस्य तथा एरिया समिति सदस्यको भूमिकामा पुग्नुभयो।
वि.सं. २०५३ सालमा शक्ति केन्द्रीकरण अभियानअन्तर्गत जाजरकोट जिल्लामा पुगेर जनयुद्धको सैन्य तयारीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो।
सैन्य जीवन र जिम्मेवारी
वि.सं. २०५४ सालमा जिल्लामा फर्किएपछि २०५५ साल असारको किलो शेरा–२ (Kilo Sera-2) अप्रेसनपछि क. योद्धा पूर्णकालीन रूपमा पार्टी र युद्धमा सक्रिय हुनुभयो।
त्यसपछि उहाँले क्रमशः विभिन्न सैन्य जिम्मेवारी सम्हाल्नुभयो—
२०५५ — नं. २ छापामार दल सह–कमाण्डर
२०५६ — स्क्वायड कमाण्डर
२०५६ — पश्चिममा गठन भएको पहिलो सैन्य फर्मेसन नं. ४ प्लाटुनको सेक्सन कमाण्डर तथा पार्टी युनिट सेक्रेटरी
२०५७ चैत — नं. १२ प्लाटुन कमाण्डर, जुम्ला
२०५८ — जनमुक्ति सेनाको पहिलो राष्ट्रिय भेलापछि कालिकोटको नं. १ प्लाटुन कमाण्डर
२०५८ कात्तिक — कम्पनी सह–कमाण्डर
२०५९ जेठ — कम्पनी कमाण्डर
२०५९ पुस — बटालियन सह–कमाण्डर
२०६० असार — बटालियन कमाण्डर
२०६० असोज — सतबरिया दोस्रो ब्रिगेड सह–कमाण्डर, सैन्य ब्युरो सदस्य तथा भेरी–कर्णाली स्वायत्त जनसरकारमा सैन्य प्रतिनिधि
यसरी छोटो राजनीतिक जीवनमै विभिन्न सैन्य जिम्मेवारी सम्हाल्दै क. योद्धा एक प्रभावशाली सैन्य कमाण्डरका रूपमा स्थापित हुनुभएको थियो।
युद्धका विभिन्न मोर्चामा
ग्रामीण वर्ग संघर्षको सुरुवात र विकासदेखि विभिन्न सैन्य कारबाहीसम्म क. योद्धाले सक्रिय भूमिका निर्वाह गर्नुभयो। उहाँ दर्जनौँ रेड, एम्बुस तथा भिडन्तमा सहभागी हुनुभएको बताइन्छ।
उहाँले कालिकोटको सान्नीघाट प्रहरी चौकी कब्जा, पादमघाट र कोटबाडा प्रहरी चौकी, अछामको विनायक चौकी, डोल्पाको सदरमुकाम दुनै, जाजरकोटको पाँचकाटिया चौकी, दैलेखको नौमुले इलाका प्रहरी कार्यालय, दाङको घोराही सदरमुकाम, अछामको साँफेबगर जिल्ला प्रहरी कार्यालय, रोल्पाको लिस्नेगाम शाही सेना ब्यारेक, रुकुमको खारा, बाजुराको पाण्डुसेन, बाँकेको कुसुम, जुम्लाको रारालिही, सल्यानको कपुरकोट तथा दामाचौर, अर्घाखाँचीको सन्धिखर्क र जुम्ला सदरमुकाम खलङ्गा लगायतका विभिन्न सैन्य कारबाहीमा कहिले कमाण्डिङ त कहिले असाल्टको भूमिकामा सहभागी हुनुभएको विवरण छ।
बेनी आक्रमण र अन्तिम यात्रा
वि.सं. २०६० साल चैत ७ गते म्याग्दी सदरमुकाम बेनीमा भएको सैन्य कारबाही क. योद्धाको अन्तिम युद्ध बन्यो।
लडाइँको अग्रमोर्चामा रहेर कमाण्ड गरिरहेका बेला उहाँको छातीमा गोली लागेको र सोही क्रममा २७ वर्षको उमेरमा सहादत प्राप्त गरेको बताइन्छ।
यसरी छोटो उमेरमै जीवनको अन्तिम क्षणसम्म संघर्षको मैदानमा खटिनुभएका क. अमरबहादुर विश्वकर्मा ‘योद्धा’ भौतिक रूपमा हामीबाट टाढा हुनुभयो। उहाँको जीवन नेपाली जनयुद्धको इतिहाससँग जोडिएको एउटा संघर्षपूर्ण अध्यायका रूपमा स्मरण गरिन्छ।
अन्तिम स्मरण
मेरो काका, क. अमरबहादुर विश्वकर्मा ‘योद्धा’—
छोटो जीवन, लामो संघर्ष।
२७ वर्षको उमेरमै जीवनको अन्तिम मोर्चामा सहादत प्राप्त गर्नुभएका उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली।
उहाँका संघर्ष, योगदान र स्मृतिहरू सधैँ सम्झनामा रहिरहनेछन्।









प्रतिक्रिया दिनुहोस्