कालिकोट – रास्कोट नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा ऐतिहासिक उपलब्धि हासिल गरेको छ। सुशासन, पारदर्शिता, दिगो विकास र वित्तीय अनुशासनमा आधारित कार्यसम्पादनका साथ नगर सरकारले निर्धारित समयसीमाभित्र निर्माण कार्यहरू सम्पन्न गर्दै, भुक्तानी प्रक्रिया, अनुगमन र वित्तीय व्यवस्थापनलाई प्रभावकारी रूपमा सम्पन्न गर्न सफल भएको छ।
स्थानीय संचित कोष व्यवस्थापन प्रणाली (SUTRA) असार २५ गते राति १२:०० बजे बन्द हुने समयसीमाभित्र सम्पूर्ण भुक्तानी प्रक्रिया सम्पन्न गर्दै नगरपालिकाले ९०% वित्तीय प्रगति हासिल गरेको हो।
यस उत्कृष्ट कार्यान्वयनका लागि नगर सरकारको नेतृत्वदायी भूमिका निर्वाह गर्नु हुने रास्कोट नगरपालिकाका उपप्रमुखज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू, वडा अध्यक्षज्यूहरू, कार्यपालिका सदस्यहरू, नगरसभा सदस्यज्यूहरू, विषयगत शाखा प्रमुख तथा कर्मचारीहरू, नगर प्रहरी, उपभोक्ता समिति, सहभागी समुदाय, निर्माण व्यवसायी, रास्कोटमा क्रियाशील संघ–संस्था तथा विभिन्न रूपमा सहभागी व्यक्तित्वहरूप्रति नगरपालिकाले गहिरो आभार प्रकट गरेको छ।
यस उपलब्धि र सहकार्यले स्थानीय सरकारको कार्यदक्षता, एकता र जनप्रतिनिधिहरूको दायित्वप्रति उत्तरदायित्वपूर्ण प्रतिबद्धता स्पष्ट पार्दछ। समग्रमा, यो उपलब्धि ‘समयमै सम्पन्न कार्य–सम्पादन नै सफलता र जनविश्वासको आधार हो’ भन्ने भावनाको पुष्टि हो।
लेखा समूह र राजस्व शाखाको समर्पणको प्रशंसा
सम्पूर्ण भुक्तानी प्रक्रिया समयमै सम्पन्न गर्न अहोरात्र खटिने लेखा समूह र राजस्व शाखाको समर्पण विशेष प्रशंसायोग्य रह्यो। विगतमा देखिएको ढिलासुस्ती, प्रणालीगत कमजोरी र कार्यान्वयनको अन्योलताबाट मुक्त गर्दै अहिलेको व्यवस्थापनले उच्च कार्यसम्पादनको उदाहरण प्रस्तुत गरेको छ।
आन्तरिक राजस्वमा अभूतपूर्व वृद्धि : आर्थिक सुदृढीकरणको नयाँ अध्याय
रास्कोट नगरपालिकाले आन्तरिक आम्दानी (Internal Revenue) को सुदृढीकरणमा पनि ऐतिहासिक फड्को मारेको छ। समग्रमा चार आर्थिक वर्षको विवरण हेर्दा राजस्व वृद्धिको दर तेब्बरभन्दा बढी देखिन्छ, जुन आर्थिक स्थायित्व र जनसहभागितामा आधारित स्थानीय शासनको सफलता हो।
आ.व. २०७८/७९ : रु. १५ लाख
आ.व. २०७९/८० : रु. ५५ लाख
आ.व. २०८०/८१ : रु. ९७ लाख
आ.व. २०८१/८२ : रु. १ करोड २६ लाख
यो संख्यात्मक वृद्धि मात्र नभई, आर्थिक अनुशासन, प्रभावकारी राजस्व नीतिको कार्यान्वयन, करदाताको जागरूकता र जनसहभागितामा आधारित प्रणाली निर्माणको परिणाम हो।
नगरपालिकाले आगामी दिनमा अझ बढी सूचना प्रवाह पारदर्शिता, सेवा प्रवाह सरलता, कर प्रणालीमा सुधार, डिजिटल प्रणाली सुदृढीकरण लगायतका उपायमार्फत आर्थिक विकासलाई संस्थागत गर्ने प्रतिवद्धता जनाएको छ।









प्रतिक्रिया दिनुहोस्