कालिकोट । रास्कोट नगरपालिका–४, ५ र ६ लाई जोड्ने गोठाले–सिम झोलुङ्गे पुल निर्माण सम्पन्न भएसँगै औपचारिक रूपमा उद्घाटन गरिएको छ।
कर्णाली प्रदेश सरकार, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, पूर्वाधार विकास निर्देशनालयअन्तर्गत पूर्वाधार विकास कार्यालय, कालिकोटबाट निर्माण सम्पन्न भएको उक्त झोलुङ्गे पुलको नगर प्रमुख धर्मराज शाही तथा सम्बन्धित वडा अध्यक्षहरूले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।
पुल निर्माणसँगै रास्कोट नगरपालिका–४, ५ र ६ का स्थानीयवासीको आवतजावत सहज हुने भएको छ। यसअघि खोला तथा भौगोलिक कठिनाइका कारण आवतजावतमा समस्या भोग्दै आएका स्थानीयलाई पुल सञ्चालनमा आएपछि दैनिक आवतजावत, सेवा–सुविधा तथा आपसी सम्बन्धमा समेत सहजता हुने अपेक्षा गरिएको छ।
गोठाले–सिम जोड्ने यो झोलुङ्गे पुल तीनवटै वडाका नागरिकलाई जोड्ने महत्वपूर्ण पूर्वाधारका रूपमा रहेको स्थानीयले बताएका छन्। पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि स्थानीयवासीमा खुसी छाएको छ।









प्रतिक्रिया दिनुहोस्