कालिकोट । कालिकोटको पलाँता गाउँपालिकाले जिल्ला बाहिर अस्थायी रूपमा बसोबास गर्दै आएका वृद्ध, एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाका लागि सञ्चालन गरेको सामाजिक सुरक्षा भत्ता नवीकरण शिविर सम्पन्न भएको छ।
गाउँपालिकाले २०८३ भदौ ८ गतेदेखि सुर्खेत, बाँके, बर्दिया र कैलाली जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको शिविरमा विभिन्न जिल्लाबाट गरी ५२५ जना सेवाग्राहीले सामाजिक सुरक्षा भत्ता नवीकरण सेवा लिएका छन्।
पलाँता गाउँपालिका पञ्जिकरण शाखामा कार्यरत कर्मचारी नन्दसिंह बमका अनुसार सुर्खेतको वीरेन्द्रनगरमा ६३ जना, बाँकेको कोहलपुरमा १४० जना, बर्दियाको ठाकुरद्वारामा ३२ जना र कैलालीको लम्कीमा २९० जना गरी जम्मा ५२५ जना सेवाग्राहीले सेवा लिएका हुन्।
त्यस्तै, शिविरबाट छिमेकी जिल्ला तथा छिमेकी स्थानीय तहका सेवाग्राहीले समेत सेवा लिएका छन्। जसमा मुगुका ३ जना, जुम्लाका २ जना, खाँडाचक्र नगरपालिकाका ३ जना, पचालझरना गाउँपालिकाका ७ जना र सान्नीत्रिवेणी गाउँपालिकाका २ जना रहेका छन्।
जिल्ला बाहिर अस्थायी रूपमा बसोबास गर्दै आएका लक्षित वर्गका नागरिकलाई सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि पलाँता गाउँपालिकासम्म आउनुपर्ने बाध्यता हटाउँदै सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो।
शिविरमार्फत ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाले आफ्नै बसोबास क्षेत्र नजिकबाट सामाजिक सुरक्षा भत्ता नवीकरण सेवा लिन पाएका छन्।









प्रतिक्रिया दिनुहोस्