कालिकोट — सान्नी त्रिवेणी गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको स्थानीय खेमराज गिरिले बताउनु भएको छ। नो लिमिट्स नेपाल, च्यारिटी हेल्थ फाउन्डेसन नेपाल र सान्नी त्रिवेणी गाउँपालिकाको साझेदारीमा सान्नी त्रिवेणी आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको हो।
गाउँपालिका वडा नं. १ सेरिज्युलामा आयोजित शिविरमा कुल १७२ जनाको आँखा परीक्षण गरिएको थियो, जसमा ७६ पुरुष र ९६ महिला रहेका छन्। परीक्षणका क्रममा ४८ जनामा मोतिबिन्दु (पुरुष २०, महिला २८) देखिएको छ भने २ जनामा मासु पलाएको समस्या भेटिएको छ। साथै ४७ जनालाई चस्मा वितरण गरिएको छ।
यसैगरी वडा नं. २ मा १५६ जनाको जाँच गरिएकोमा ३० जनामा मोतिबिन्दु (पुरुष १७, महिला १३) र २ जनामा मासु पलाएको समस्या देखिएको छ। यहाँ पनि ४७ जनालाई चस्मा वितरण गरिएको छ।
वडा नं. ३ मा १३७ जनाको परीक्षण गर्दा ३२ जनामा मोतिबिन्दु (पुरुष १३, महिला २२) र २ जनामा मासु पलाएको समस्या फेला परेको छ भने २७ जनालाई चस्मा वितरण गरिएको छ।
शिविरमार्फत तीन वडामा गरी जम्मा ४६५ जनाको आँखा परीक्षण गरिएको हो। कार्यक्रममा सक्रिय भूमिका निर्वाह गर्ने नो लिमिट्स परिवार, सान्नी त्रिवेणी आँखा उपचार केन्द्रका सम्पूर्ण कर्मचारी तथा विशेष योगदान पुर्याउने खेमराज शाहप्रति स्थानीयले आभार व्यक्त गरेका छन्।
यसैबीच, शिविरमा पहिचान भएका मोतिबिन्दुका बिरामीहरूको निःशुल्क शल्यक्रिया यही २०८३ साल बैशाख २७, २८ र २९ गते सान्नी त्रिवेणी आँखा उपचार केन्द्र, मेहलमुडीमा सञ्चालन हुने जानकारी दिइएको छ। सबै बिरामीलाई अनिवार्य उपस्थित भई उपचार गराउन अनुरोध गरिएको छ।
शल्यक्रियाका लागि बिरामीको बसोबासको व्यवस्था गाउँपालिकाले गर्नेछ भने खानाको व्यवस्था बिरामी स्वयंले गर्नुपर्ने जनाइएको छ।









प्रतिक्रिया दिनुहोस्