२०८३ जेष्ठ २२ गते शुक्रवार

१७औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन १९ देखि कोशी प्रदेशमा



काठमाडौ, जेठ २१ – नेपालको प्रतिष्ठित विद्यालयस्तरीय खेल प्रतियोगिता १७औँ राष्ट्रपति रनिङ शिल्ड आगामी फागुन १९ देखि २२ गतेसम्म कोशी प्रदेशमा आयोजना हुने भएको छ।
१६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन तथा उद्घाटन समारोहका अवसरमा राष्ट्रपति ले आगामी संस्करणको आयोजना जिम्मेवारी कोशी प्रदेशलाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्। सो अवसरमा राष्ट्रपति पौडेलले प्रतियोगिताको झण्डा प्रदेश खेलकुद विकास बोर्ड, कोशीका सदस्य–सचिव विप्लव घोषलाई हस्तान्तरण गरे।
झण्डा हस्तान्तरणसँगै १७औँ संस्करणको तयारी प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। प्रतियोगितामा देशभरका विद्यालयबाट छनोट भएका उत्कृष्ट खेलाडीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
राष्ट्रपति रनिङ शिल्ड नेपालकै सबैभन्दा प्रतिष्ठित विद्यालयस्तरीय खेल प्रतियोगितामध्ये एक मानिन्छ। यस प्रतियोगिताले विद्यालय तहमा खेलकुदको विकास, युवा प्रतिभाको पहिचान तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।
प्रदेश खेलकुद विकास बोर्ड, कोशीले प्रतियोगितालाई सफल, व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न आवश्यक पूर्वतयारी तथा व्यवस्थापन कार्य अगाडि बढाइने जनाएको छ।
कोशी प्रदेशमा आयोजना हुने प्रतियोगिताले प्रदेशको खेलकुद पूर्वाधार, व्यवस्थापन क्षमता तथा खेल पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ जेष्ठ २२ गते शुक्रवार