२०८२ फाल्गुन २४ गते आइतवार

साम्बाको पाँच गोल, प्रशिक्षक प्याट्रिकको डेब्युमा नेपालको ऐतिहासिक जित।



असार १५ — कप्तान सावित्रा भण्डारी ‘साम्बा’को पाँच गोलको चम्किलो प्रदर्शनसहित नेपालले एएफसी महिला एसियन कप छनोटको पहिलो खेलमा लाओसलाई ९–० को फराकिलो अन्तरले पराजित गर्दै शानदार जित हासिल गरेको छ। प्रशिक्षक प्याट्रिक अफ्रेमको डेब्यु खेलमै नेपालले यस्तो ऐतिहासिक नतिजा निकालेको हो।

खेलको सुरुवातदेखि नै आक्रामक शैलीमा देखिएको नेपाली टोलीले १२औं मिनेटमै अग्रता बनायो। सविता राना मगरको क्रसमा साम्बाले हेडमार्फत बल अगाडि बढाइन्, जसलाई अनिता बस्नेतले बायाँ खुट्टाले प्रहार गर्दै जाली चुमाइन्।

४४औं मिनेटमा साम्बाले अनिता बस्नेतको क्रसमा उत्कृष्ट हेडिङ गर्दै नेपालका लागि दोस्रो गोल गरिन्। पहिलो हाफको अन्त्यसम्म नेपाल २–० ले अघि थियो।

दोस्रो हाफको सुरुवातमै नेपालले गोलको वर्षा झनै तेज बनायो। ४७औं मिनेटमा सरु लिम्बुले ५०औं अन्तर्राष्ट्रिय गोल गर्दै स्कोर ३–० बनाइन्। त्यसपछि ५५औं मिनेटमा साम्बाले लामो थ्रु-पासमा व्यक्तिगत दोस्रो गोल गरिन्।

५६औं मिनेटमा रश्मिकुमारी घिसिङले रेनुकाको पासमा गोल थपिन्। त्यसपछि तीन खेलाडी परिवर्तन गर्दै नेपालले नयाँ रणनीति अघि सारेको देखियो। प्रीति राई, पुजा राना र अनिता केसी मैदान प्रवेश गरे।

७५औं मिनेटमा साम्बाले ह्याट्रिक पुरा गर्दै स्कोर ६–० बनाइन्। त्यसपछि ७६औं मिनेटमै साम्बाले व्यक्तिगत चौथो गोल थपिन्।

८३औं मिनेटमा सब्स्टिच्युट अनिता केसीले गोल गर्दै ८–० को अग्रता बनाइन्। अन्तिम गोल ८८औं मिनेटमा साम्बाको प्रहार लाओसका खेलाडीको खुट्टामा लाग्दै गोलमा परिणत भयो, जसले साम्बाको पाँचौं र अन्तर्राष्ट्रिय करियरको ६२औं गोल सुनिश्चित गर्‍यो।

यो खेल नेपाली महिला फुटबल टोलीको १००औं अन्तर्राष्ट्रिय खेलसमेत थियो, जसलाई टीमले ऐतिहासिक जितमार्फत सम्झनलायक बनाएको छ। कप्तानको जिम्मेवारीमा रहेकी साम्बाले पाँच गोल गर्दै आफ्नो नेतृत्व क्षमताको शानदार प्रदर्शन गरिन्।

नयाँ प्रशिक्षक प्याट्रिक अफ्रेमको डेब्यु पनि सुखद रह्यो। समूह ‘एफ’ अन्तर्गत नेपालले अब उज्वेकिस्तान र श्रीलंकासँग खेल्नेछ। पहिलो खेलमै यस्तो विजयपछि छनोट चरणमा नेपालले बलियो सन्देश दिएको छ।

प्रकाशित मिति : २०८२ असार १५ गते आइतवार