२०८२ फाल्गुन २३ गते शनिवार

अहमदावाद विमान दुर्घटना: २४१ जनाको मृत्यु, एक मात्र यात्रु जीवित।



३० जेठ, – भारतको अहमदावादमा बिहीबार दिउँसो एक भयावह विमान दुर्घटनामा परेर २४१ जनाको मृत्यु भएको छ। एयर इन्डियाको बोइङ ७८७–८ विमान लण्डनका लागि उडान भरेको केही मिनेटमै दुर्घटनाग्रस्त हुँदा उक्त ज्यान गएको हो।

भारतीय गृहमन्त्री अमित शाहका अनुसार, दुर्घटनाको समयमा विमानमा २३० यात्रु र १२ चालक दलका सदस्य थिए। तीमध्ये केवल एकजना मात्र जीवित रहेका छन्। उनले ती यात्रुसँग कुराकानी गरेको जानकारी पनि पत्रकारहरूलाई दिएका छन्। जीवित रहेका व्यक्ति भारतीय मूलका बेलायती नागरिक हुन् र हाल अस्पतालमा उपचाररत छन्।

विमान दिउँसो २:३८ मा अहमदावादबाट उडेको थियो। उडानको मात्र दुई मिनेटपछि, २:४० मा, विमान जमिनमा खसेर आगो लाग्दा ठुलो क्षति भएको हो। विमानमा करिब सवा लाख लिटर इन्धन रहेकोले आगो अत्यन्तै भयानक भएको अधिकारीहरूले जनाएका छन्।

भारतीय मिडियाका अनुसार, दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीको पनि निधन भएको छ।

टाटाको राहत घोषणा

एयर इन्डिया संचालक टाटा समूहले दुर्घटनामा ज्यान गुमाउने हरूका परिवारलाई जनही एक करोड रुपैयाँको दरले क्षतिपूर्ति दिने घोषणा गरेको छ। साथै, जीवित यात्रुको पूर्ण उपचार खर्च व्यहोर्ने र दुर्घटनाबाट क्षतिग्रस्त घरहरूको पुनर्निर्माण गरिदिने बताइएको छ।

अन्तर्राष्ट्रिय शोक

घटनापछि भारतका राष्ट्रपति, प्रधानमन्त्रीसहित विभिन्न राजनीतिक दलका नेताहरूले शोक प्रकट गरेका छन्। साथै, अमेरिका, बेलायत, क्यानडा, बंगलादेश, पाकिस्तान, माल्दिभ्स, नेपाल लगायतका राष्ट्रहरूले पनि समवेदना व्यक्त गरेका छन्।

घटनास्थलमा उद्दार तथा अनुसन्धान कार्य जारी रहेको छ भने सबै शवहरूको पहिचानका लागि डीएनए परीक्षण गरिने बताइएको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ ३० गते शुक्रवार