२०८३ बैशाख २२ गते मङ्गलवार

नेपाल कुवेतसँग ३ रनले पराजित, टि-२० सिरिज उपाधि गुमायो।



चैत्र ३१ –
नेपाल चार राष्ट्र सम्मिलित टि–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा कुवेतसँग ३ रनले पराजित हुँदै उपाधि जित्न असफल भयो।

१७५ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा १७१ रनमै अलआउट भयो। खराब सुरुआतका कारण नेपाल संकटमा परेको हो। सुरुवाती चार विकेट २८ रनमै गुमाउँदा नेपालले ब्याटिङमा पुनः सम्हालिन सकेन। कुशल भुर्तेल (३), आशिफ शेख (२१), कुशल मल्ल र दीपेन्द्र सिंह ऐरी खाता नखोली आउट भए।

कप्तान रोहित पौडेल (७), सोमपाल कामी (४), गुल्सन झा (९) र करण केसी (४) सस्तैमा आउट भए। एक समय ९२ रनमै ८ विकेट गुमाएको नेपाललाई बसिर अहमद र नन्दन यादवको ७२ रनको साझेदारीले जितको नजिक पुर्यायो।

नवौं विकेटका लागि विस्फोटक पारी खेल्दै बसिरले ८० रन बनाए भने नन्दनले ३७ रनको योगदान दिए। अन्तिम ओभरमा नेपाललाई जितका लागि ११ रन आवश्यक थियो। अुनदीप चिन्थामाराको नो बलमा बसिरले छक्का हाने पनि त्यसपछि आउट भएपछि नेपाल ३ रनले हार्न बाध्य भयो।

बलिङतर्फ नेपालका लागि नन्दन यादव र सोमपाल कामीले समान २/२ विकेट लिए। करण केसी र कुशल भुर्तेलले १/१ विकेट लिए भने ललित नारायण राजवंशी विकेट विहिन रहे।

यसअघि टस जितेर ब्याटिङको निम्तो पाएको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनायो। ओपनर राभिजा सन्दरुवानले ६३ रनको महत्त्वपूर्ण पारी खेले। क्लिन्टो एन्टो (२६), मिट भावसार (१६), उसमान पटेल (२३) ले पनि उल्लेख्य योगदान दिए।

नेपालले लिग चरणमा कतारलाई ८ विकेट र कुवेतलाई ६ विकेटले हराएको थियो। हङकङसँगको खेल भने वर्षाका कारण रद्द भएको थियो। कुवेतले हङकङलाई ४ विकेट र कतारलाई ६ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको थियो।

प्रकाशित मिति : २०८१ चैत्र ३१ गते आइतवार