कालिकोट — पलाँता गाउँपालिकामा निर्माण सम्पन्न भएको भदे-कुयापानी–कर्णाली करिडोर संगै अन्तर-प्रदेश सुदुरपश्चिमको बाजुरा जोड्ने झोलुङ्गे पुल समुद्घाटन गरिएको छ।
पलाँता गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर रोकाया, उपाध्यक्ष अलैपुरा हमाल–जैशी, नेकपाका नेता तथा निर्वाचन क्षेत्र ख” का संयोजक मानबहादुर भण्डारी तथा पालिकाकै सम्बन्धित वडा अध्यक्षहरू भीमप्रसाद न्यौपाने र तिलक बुढा लगायत जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्थानीय जनसमुदायको उपस्थितिमा पुलको समुद्घाटन गरिएको हो।
कर्णाली प्रदेश सरकार, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, पूर्वाधार विकास निर्देशनालयअन्तर्गत पूर्वाधार विकास कार्यालय कालिकोटबाट निर्माण सम्पन्न उक्त पुलले स्थानीय बासिन्दाको आवतजावत सहज बनाउनुका साथै कर्णाली करिडोरसँगको पहुँचलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।
पुल निर्माणसँगै वर्षायाममा खोला तथा नदी पार गर्नुपर्ने स्थानीयको जोखिम घट्नुका साथै दैनिक आवतजावत, व्यापार–व्यवसाय र स्थानीयको आर्थिक तथा सामाजिक गतिविधिमा समेत सहजता आउने स्थानीयले बताएका छन्।
समुद्घाटन कार्यक्रममा बोल्दै जनप्रतिनिधिहरूले विकास निर्माणका पूर्वाधारले नागरिकको जीवनस्तरमा प्रत्यक्ष परिवर्तन ल्याउने भएकाले निर्माण भएका संरचनाको संरक्षणमा स्थानीय समुदायको समेत महत्वपूर्ण भूमिका रहने बताएका छन्।









प्रतिक्रिया दिनुहोस्