२०८३ असोज १७ गते शनिवार

कालिकोटमा सवारी आवागमन बन्द, कर्णाली करिडोर र कालिकोट–जुम्ला सडकमा यातायात रोकियो



कालिकोट । लगातारको वर्षासँगै बाढी तथा पहिरोको जोखिम बढेपछि कालिकोटमा सवारीसाधन आवागमन बन्द गरिएको छ।
जिल्ला प्रशासन कार्यालय कालिकोटले शुक्रबार एक अत्यन्त जरुरी सूचना जारी गर्दै कर्णाली करिडोर तथा कालिकोट–जुम्ला सडक खण्डमा अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरेको जनाएको हो।
नेपाल मौसम विज्ञान विभागले असोज ५ गते जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार असोज ९ गते शुक्रबारदेखि असोज ११ गतेसम्म तीन दिन हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको छ।
यसैबीच, असोज ५ गते रातिदेखि कालिकोट जिल्लामा निरन्तर वर्षा भइरहेको र वर्षाका कारण सडक तथा राजमार्गमा बाढी र पहिरोको उच्च जोखिम रहेको प्रशासनले जनाएको छ।

सम्भावित बाढी तथा पहिरोबाट मानवीय तथा भौतिक क्षति हुन नदिन जिल्ला प्रशासन कार्यालयले असोज ९ गतेदेखि अर्को सूचना जारी नभएसम्म कर्णाली करिडोर र कालिकोट–जुम्ला सडक खण्डमा अत्यावश्यक सेवाबाहेकका सवारीसाधन सञ्चालन नगर्न/नगराउन आग्रह गरेको छ।
प्रशासनले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित सबैलाई सूचनाको पालना गर्न तथा सुरक्षित रहन आग्रह गरेको छ।

प्रकाशित मिति : २०८३ असोज ९ गते शुक्रवार