२०८३ असोज १७ गते शनिवार

१०औँ राष्ट्रिय खेलकुदका लागि कर्णालीमा जिल्ला तथा प्रदेशस्तरीय छनोट हुँदै, कालिकोटमा पुरुष भलिबल



सुर्खेत । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वतयारीस्वरूप कर्णाली प्रदेशमा जिल्ला तथा प्रदेशस्तरीय खेलाडी छनोट प्रक्रिया अघि बढाइएको छ। कर्णाली प्रदेश खेलकुद विकास परिषद्को निर्णयअनुसार राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडी तथा टोली छनोटका लागि विभिन्न चरणमा छनोट प्रतियोगिता सञ्चालन गरिने भएको हो।
परिषद्को २०८३ असोज ४ गतेको सूचनाअनुसार, दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वतयारीका लागि जिल्लास्तरीय छनोट प्रतियोगिता २०८३ असोज १२ गतेदेखि २२ गतेसम्म सम्बन्धित जिल्लामा सञ्चालन गर्ने निर्णय गरिएको छ। जिल्ला तहबाट उत्कृष्ट खेलाडी छनोट गरी प्रदेशस्तरीय छनोटका लागि अघि बढाइनेछ।
यसका लागि विभिन्न जिल्लामा संयोजकसमेत तोकिएका छन्। हुम्ला र मुगुका लागि गोरखबहादुर शाही, कालिकोट र जुम्लाका लागि पञ्चबहादुर मल्ल, दैलेख र जाजरकोटका लागि पवनकुमार थापा, सल्यान र रुकुम पश्चिमका लागि भीमकुमारी भुसाल तथा सुर्खेत र डोल्पाका लागि किरणकिशोर सापकोटालाई संयोजकको जिम्मेवारी दिइएको छ।
त्यसैगरी, १०औँ राष्ट्रिय खेलकुदमा समावेश ३२ वटा खेल विधामध्ये विभिन्न खेलको प्रदेशस्तरीय छनोट प्रतियोगिता २०८३ असोज २६ गतेदेखि ३१ गतेसम्म कर्णाली प्रदेशका विभिन्न जिल्लामा आयोजना गरिने भएको छ।
प्रदेशस्तरीय छनोटका लागि खेलअनुसार जिल्लागत जिम्मेवारीसमेत तोकिएको छ। जसअनुसार दैलेखमा कराँते, एफसी कराँते र ह्याण्डबल; जाजरकोटमा खो–खो; सल्यानमा टेबल टेनिस; रुकुम पश्चिममा महिला कबड्डी; जुम्लामा WTF तेक्वान्दो; हुम्लामा महिला भलिबल र हक्की; मुगुमा पुरुष कबड्डी; कालिकोटमा पुरुष भलिबल; डोल्पामा चेस (बुद्धिचाल) तथा सुर्खेतमा बाँकी सबै खेलको प्रदेशस्तरीय छनोट सञ्चालन हुनेछ।
यसअनुसार कालिकोटमा पुरुष भलिबलको प्रदेशस्तरीय छनोट प्रतियोगिता आयोजना हुने भएको छ। जिल्लास्तरीय छनोटबाट छनोट भएका खेलाडीहरू प्रदेशस्तरीय छनोटमा सहभागी हुनेछन्।
प्रदेशस्तरीय छनोटबाट उत्कृष्ट खेलाडी तथा टोली छनोट गरी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशको प्रतिनिधित्व गराइनेछ। परिषद्ले सम्बन्धित खेल संघ, जिल्ला खेलकुद विकास समिति तथा सरोकारवाला निकायलाई आवश्यक समन्वय गरी छनोट प्रक्रिया प्रभावकारी रूपमा सम्पन्न गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : २०८३ असोज ५ गते सोमवार