२०८३ असोज १७ गते शनिवार

घाँस काट्न गएका पलाँता–९ का धिरबहादुर बमको भिरबाट लडेर मृत्यु



कालिकोट । पलाँता गाउँपालिका–९ का ५३ वर्षीय धिरबहादुर बमको भिरबाट लडेर मृत्यु भएको छ। सोमबार घर नजिकै तिब्गाड खोलामा घाँस काट्न गएको बेला भिरबाट लडेर गम्भीर घाइते भएका बमको उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
प्राप्त जानकारीअनुसार सोमबार दिउँसो करिब २ बजे घाँस काट्ने क्रममा बम भिरबाट लडेका थिए। भिरबाट लडेपछि केही समयसम्म घटनाबारे कसैलाई जानकारी नभएको र करिब ३ बजे मात्रै स्थानीय खड्गबहादुर बमले उनलाई फेला पारेका थिए।
गम्भीर अवस्थामा रहेका बमलाई स्थानीय खड्गबहादुर बम लगायतले उद्धार गरी बोकेर घाटचौरसम्म पुर्‍याएका थिए। उनलाई घाटचौर पुर्‍याउँदा साँझ करिब ५ बजेको थियो। त्यसपछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल, सुर्खेत लैजाने क्रममा उनको अवस्था झनै गम्भीर बनेको थियो।
उपचारका लागि सुर्खेततर्फ लैजाँदै गर्दा पातलखोला पुगेपछि राति करिब १ बजे बमको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
भिरबाट लडेर गम्भीर घाइते भएका बमलाई समयमै उद्धार गरी उपचारका लागि लैजाने प्रयास गरिए पनि बाटोमै निधन भएपछि परिवार तथा स्थानीयवासी शोकमा परेका छन्।

प्रकाशित मिति : २०८३ असोज ६ गते मङ्गलवार