कालीकोट मान्म । ११औँ संविधान दिवसको अवसरमा कालीकोट जिल्ला विपद् व्यवस्थापन समितिलाई ड्रोन क्यामेरा हस्तान्तरण गरिएको छ।
विपद्का समयमा प्रभावित क्षेत्रको अवस्था तत्काल पहिचान गर्न, खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन तथा क्षतिको प्रारम्भिक विवरण संकलन गर्न ड्रोन क्यामेरा उपयोगी हुने अपेक्षा गरिएको छ। विशेषगरी भौगोलिक रूपमा विकट तथा दुर्गम क्षेत्रमा हुने बाढी, पहिरो, आगलागीलगायतका विपद्का घटनामा जोखिम क्षेत्रको निगरानी तथा घटनास्थलको अवस्थाबारे जानकारी लिन ड्रोनको प्रयोग गर्न सकिने जनाइएको छ।
संविधान दिवसका अवसरमा महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले कालीकोटका प्रमुख जिल्ला अधिकारी झबिलाल भट्टराईलाई ड्रोन क्यामेरा हस्तान्तरण गरेका हुन्।
ड्रोन प्राप्त भएसँगै विपद्का बेला घटनास्थलको वास्तविक अवस्था तत्काल अवलोकन गर्न, क्षतिको प्रारम्भिक विवरण संकलन गर्न तथा उद्धार र राहत व्यवस्थापनका लागि आवश्यक सूचना प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ।
कालीकोटजस्तो भौगोलिक रूपमा कठिन जिल्लामा विपद् व्यवस्थापनका लागि आधुनिक प्रविधिको प्रयोगले खोज, उद्धार, क्षति मूल्याङ्कन तथा जोखिम न्यूनीकरणका कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने जिल्ला स्थित सरोकारवाला र प्रमुख जिल्ला अधिकारीले बताउनु भएको छन्।









प्रतिक्रिया दिनुहोस्