कालिकोट । स्वास्थ्य सेवा प्रवाह, कार्यक्रम कार्यान्वयन तथा स्वास्थ्य सूचकमा गरेको प्रगतिका आधारमा कालिकोटको रास्कोट नगरपालिका जिल्लामै उत्कृष्ट भएको छ।
आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको जिल्ला स्तरीय वार्षिक समीक्षा गोष्ठीमा जिल्लाका नौ स्थानीय तहको मूल्यांकन गर्दा रास्कोट नगरपालिका पहिलो भएको हो। मूल्यांकनमा पचालझरना गाउँपालिका दोस्रो र सान्नीत्रिवेणी गाउँपालिका तेस्रो भएको स्वास्थ्य सेवा कार्यालय कालिकोटका सूचना अधिकारी कटकबहादुर महतले जानकारी दिए।
स्वास्थ्य क्षेत्रमा प्राप्त यो उपलब्धि नगरपालिकाले निरन्तर गर्दै आएको प्रयास, स्वास्थ्य कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा सेवा प्रवाहमा गरिएको सुधारको महत्वपूर्ण परिणाम भएको रास्कोट नगरपालिका प्रमुख धर्मराज शाहीले बताए।
नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै विभिन्न स्वास्थ्य कार्यक्रम तथा गतिविधिलाई निरन्तर सञ्चालन गर्दै आएको उनले बताए। स्वास्थ्यकर्मीहरूको निरन्तर मेहनत, स्वास्थ्य संस्थाहरूको प्रतिबद्धता तथा जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सरोकारवाला निकायबीचको सहकार्यले उपलब्धि हासिल गर्न महत्वपूर्ण भूमिका खेलेको नगर प्रमुख शाहीको भनाइ छ।
स्वास्थ्य सेवा कार्यालय कालिकोटको आयोजनामा सम्पन्न समीक्षा गोष्ठीमा आर्थिक वर्ष २०८२/०८३ मा जिल्लाका नौवटै स्थानीय तह, स्वास्थ्य सेवा कार्यालय तथा विकास साझेदार संस्थाहरूबाट सञ्चालन तथा सम्पादन गरिएका स्वास्थ्य कार्यक्रमहरूको प्रस्तुतीकरण, छलफल र समीक्षा गरिएको थियो।
गोष्ठीमा स्वास्थ्य कार्यक्रमको कार्यान्वयन अवस्था, सेवा प्रवाह, स्वास्थ्य सूचक तथा हासिल भएका उपलब्धिका विषयमा समीक्षा गरिएको स्वास्थ्य सेवा कार्यालय कालिकोटका प्रमुख डा. रत्नवीर सुनारले जानकारी दिए।
स्वास्थ्य क्षेत्रमा रास्कोट नगरपालिकाले जिल्लामै उत्कृष्ट नतिजा हासिल गरेपछि नगरपालिकाले स्वास्थ्य सेवा अझ प्रभावकारी र नागरिकमैत्री बनाउनेतर्फ आफ्नो प्रयासलाई थप निरन्तरता दिने जनाएको छ।









प्रतिक्रिया दिनुहोस्