२०८३ साउन १२ गते मङ्गलवार

निर्माण व्यवसायीलाई काममा तीव्रता दिन रास्कोट नगरपालिकाको सार्वजनिक अपिल



कालिकोट, साउन १ – रास्कोट नगरपालिकाले सान्नीघाट–सिपखाना कालोपत्रे सडक निर्माणको काममा भइरहेको ढिलाइप्रति गम्भीर चासो व्यक्त गर्दै निर्माण व्यवसायीलाई सम्झौताअनुसार यथाशीघ्र काम सम्पन्न गर्न सार्वजनिक अपिल जारी गरेको छ।
नगरप्रमुख धर्मराज शाहीद्वारा जारी अपिलमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय, कालिकोटमार्फत के.एस. शान्तिदेव जे.भी.सँग भएको ठेक्का सम्झौताअनुसार सम्पन्न हुनुपर्ने सडक निर्माण कार्य विभिन्न कारणले समयमै पूरा हुन नसकेको उल्लेख गरिएको छ।

नगरपालिकाले निर्माण कार्यमा भएको ढिलाइका कारण रास्कोटवासीले धुलो, हिलो, जोखिमपूर्ण यात्रा, यातायात सञ्चालनमा कठिनाइ तथा शिक्षा, स्वास्थ्य, कृषि, व्यापार–व्यवसायलगायत दैनिक जनजीवनमा निरन्तर समस्या भोग्नुपरेको जनाएको छ। निर्माण कार्य समयमै सम्पन्न गराउन नगरपालिकाले सम्बन्धित निकाय र निर्माण व्यवसायीसँग पटक–पटक मौखिक तथा लिखित रूपमा समन्वय, ध्यानाकर्षण र आवश्यक पहल गर्दै आए पनि अपेक्षित प्रगति हुन नसकेको नगरपालिकाको भनाइ छ।
अपिलमा हालसम्म सम्झौता रकमको करिब ५२.८७ प्रतिशत बराबरको रनिङ बिल भुक्तानी भइसकेको भए पनि निर्माण कार्यले सन्तोषजनक गति लिन नसकेको उल्लेख गरिएको छ।
नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को सुरुवातसँगै निर्माण व्यवसायीलाई पूर्ण रूपमा निर्माणस्थलमा परिचालन भई सडक निर्माण कार्यलाई तीव्रता दिन आग्रह गरेको छ। यदि अझै पनि सम्झौताअनुसार काम सम्पन्न गर्न बेवास्ता गरिए प्रचलित सार्वजनिक खरिद ऐन, नियमावली तथा ठेक्का सम्झौताअनुसार ठेक्का तोड्नेसम्मका कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित निकायसमक्ष औपचारिक अनुरोध गरिने चेतावनी समेत दिइएको छ।
रास्कोट नगरपालिकाले नागरिकलाई सहज, सुरक्षित र गुणस्तरीय सडक पहुँच उपलब्ध गराउनु आफ्नो प्रमुख प्राथमिकता भएको उल्लेख गर्दै सडक निर्माण कार्य समयमै सम्पन्न गराउन आवश्यक समन्वय, सहजीकरण र पहललाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति : २०८३ साउन १ गते शुक्रवार