कालिकोट , मंसिर २१,
कर्णाली प्रदेश अन्तर्गत कालिकोट जिल्लाको महत्वपूर्ण यातायात पूर्वाधार परियोजना शेराबाडा–पादमघाट–महाबै सडक निर्माण प्रक्रियालाई जसोतसो अघि बढाउने तयारी तीव्र बनेको छ। प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम (PLRIP) अन्तर्गत यस उप–परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (DPR) तथा बोलपत्र कागजात समीक्षा सम्पन्न गरी खरिद प्रक्रियाका लागि सहमति (Concurrence) प्रदान गर्न औपचारिक रूपमा सिफारिस गरिएको छ।
केन्द्रीय कार्यक्रम समन्वय इकाई (CPCU) का कार्यक्रम तथा गुणस्तर व्यवस्थापन विशेषज्ञ (PQME) इञ्जिनियर रामबाबु पौड्यालले २० नोभेम्बरमा जारी गरेको पत्रमा प्रदेशको PPMU ले पेश गरेको DPR, बोलपत्र, स्थल अवलोकन, पत्र–व्यवहार तथा प्राविधिक बैठकका प्रतिवेदनहरूका आधारमा आवश्यक सुधारसहित परियोजना अगाडि बढाउन सिफारिस गरिएको उल्लेख छ।
६ किलोमिटर सडक, प्रिमिक्स कार्पेट विधिमा निर्माण
उप–परियोजनाअन्तर्गत कालिकोट जिल्लाको शेराबाडा–पडमघाट–महाबै सडक खण्ड करार नम्बर PLRIP/Karnali/W-NCB-1-082/83 मा सूचीकृत छ।
सडकको कुल लम्बाइ ६ किलोमिटर रहेको छ।
अन्य सडकहरूमा प्रयोग हुँदै आएको आधुनिक प्रिमिक्स कार्पेट विधिमा यो खण्ड निर्माण गरिनेछ, जसले सडकको टिकाउपन, भौतिक अवस्था तथा यातायात सुरक्षा बढाउने अपेक्षा गरिएको छ।
५१ करोडभन्दा बढी लागत
प्रदेश सरकारले पठाएको DPR तथा अनुमानका आधारमा आयोजना बनाउन आवश्यक कुल लागत (VAT सहित):
(५१ करोड ३२ लाख ६ हजार ७१९ रूपैयाँ ६० पैसा)हो ।
आर्थिक मूल्यको दृष्टिले यो कालिकोट जिल्लामा हालैका वर्षहरूमा अघि सारिएका सडक परियोजनामध्ये एक महत्त्वपूर्ण लगानीको रूपमा रहेको छ।
खरिद प्रक्रिया छिट्टै अघि बढ्ने ।
इञ्जिनियर. पौड्यालले पठाएको समीक्षा प्रतिवेदनमा बोलपत्र कागजातमा केही प्राविधिक सुधार गर्नुपर्ने उल्लेख गर्दै, ती सुधारहरू समावेश गरेपछि खरिद प्रक्रिया सुरु गर्न मिल्ने स्पष्ट सन्देश दिएको छ।
स्थानीय तह, प्रदेश सरकार र कार्यक्रम संयन्त्रबीच समन्वय कायम हुँदै गएमा सडक निर्माण कार्य निर्धारित समयमा सम्पन्न हुने अधिकारीहरू बताउँछन् ।









प्रतिक्रिया दिनुहोस्