२०८३ जेष्ठ २० गते बुधवार

कालिकोटमा वाई-वाई U-19 क्रिकेट छनोट प्रतियोगिता सुरु



कालिकोट, जेठ १५ — कालिकोट जिल्ला क्रिकेट संघको आयोजनामा ‘वाई-वाई U-19 क्रिकेट छनोट प्रतियोगिता’ भव्य रूपमा सुरु भएको छ। “प्रतिभाको पहिचान, क्रिकेटको सम्मान” भन्ने मूल नारासहित सञ्चालन भएको प्रतियोगिता तीन दिनसम्म जारी रहने आयोजकले जनाएको छ।
कालिकोट जिल्ला क्रिकेट संघका प्रवक्ता पबन बमको सभाध्यक्षतामा उद्घाटन कार्यक्रममा कर्णाली प्रदेश क्रिकेट संघका उपाध्यक्ष खडग जंग शाही प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा कर्णाली जेसिजका पूर्व अध्यक्ष लक्ष्मण कुमार शाही, कर्णाली प्रदेश क्रिकेट संघका सदस्य दमन राज शाही तथा सुभकालिका खेलकुद विकास समितिका अध्यक्ष बिनोद शाही विशेष अतिथि तथा अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि खडग जंग शाहीले मोफसलमा आयोजना हुने यस्ता उमेर समूहका प्रतियोगिताले गाउँ–गाउँमा रहेका क्रिकेट प्रतिभालाई पहिचान गरी राष्ट्रिय स्तरसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले कर्णालीमा क्रिकेटको सम्भावना उच्च रहेको उल्लेख गर्दै खेलाडीहरूलाई अनुशासन, मेहनत र निरन्तरतासहित अगाडि बढ्न आग्रह गर्नुभयो।
प्रतियोगितामा जिल्लाका विभिन्न क्षेत्रबाट आएका युवा खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको छ। प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई प्रदेश स्तरीय छनोटका लागि सिफारिस गरिने आयोजकले जनाएको छ।
स्थानीय स्तरमै क्रिकेट प्रतिभा खोजी तथा खेलप्रति युवाहरूको आकर्षण बढाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको संघले जानकारी दिएको छ।

प्रकाशित मिति : २०८३ जेष्ठ १५ गते शुक्रवार