धनकर्ण विश्वकर्मा,
कालीकोट, जेठ १०, देशभरिका न्यौपाने तथा कौडीले गोत्रका व्यक्तिहरूको पुर्खेली चिनारी र धार्मिक चेतनाको प्रवर्द्धन गर्ने उद्देश्यले पलाँता गाउँपालिका, कालीकोटमा आयोजित श्री मद्भभागवत महापुराण सप्ताह महायज्ञ भव्य रूपमा सम्पन्न भएको छ।

पलाँता सरकारको पहल र न्यौपाने समाज पलाँता शाखाको आयोजनामा जेठ ३ गतेदेखि सुरु भएको उक्त धार्मिक कार्यक्रम आज विविध धार्मिक तथा सांस्कृतिक गतिविधिका साथ सम्पन्न गरिएको हो।
कार्यक्रमको उद्घाटन कालीकोट जिल्ला अदालतका न्यायाधीश डोलनाथ न्यौपानेको प्रमुख आतिथ्यतामा तथा पलाँता गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर रोकाया र उपाध्यक्ष अलैपुरा जैसी हमालको विशेष उपस्थितिमा गरिएको थियो।
महायज्ञको प्रमुख उद्देश्य देशभरिका न्यौपाने समुदायबीच एकता विस्तार गर्नुका साथै उनीहरूको कुल देवता मष्टाको प्रचारप्रसार गर्दै पलाँतालाई धार्मिक पर्यटकीय स्थलको रूपमा स्थापित गर्नु रहेको आयोजकले जनाएका छन्।
देश–विदेशमा रहेका नेपाली युवा–युवतीहरूले कार्यक्रममा आर्थिक सहयोग प्रदान गरेका थिए। विशेष गरी मष्टा देवताको मूल धामी रामप्रसाद न्यौपानेले ३५० मिटर जग्गा मन्दिर तथा थान निर्माणका लागि दान दिँदै धार्मिक विकासमा ऐतिहासिक योगदान पु¥याएका छन्।
सप्ताहभर चल्ने प्रवचन कार्यक्रमका प्रमुख वाचक आचार्य सुदामा संज्याल रहेका थिए। कार्यक्रमको समापन समारोहमा धामी रामप्रसाद न्यौपानेलाई विशेष सम्मानसमेत प्रदान गरिएको थियो।
आयोजक समितिले संकलित दानको पारदर्शी र सदुपयोग गर्ने प्रतिबद्धता जनाएको छ।









प्रतिक्रिया दिनुहोस्