कविता: मेरी आमा
हजारौं दुःखको भारी बोकेर,
मुस्कानले संसार सजाउने आमा।
आँशु लुकाएर हाँसो बाँड्ने,
निस्वार्थ माया देखाउने आमा।
बिहान उज्यालो नहुँदै उठ्ने,
सन्तानको सपना बुन्ने आमा।
भोकै बसेर हामीलाई खुवाउने,
आफ्नै सुखलाई तुच्छ ठान्ने आमा।
संसारले गिज्याउँदा पनि हाँस्ने,
जीवनलाई खेलौना बनाउने आमा।
हर दुःखलाई वरदान सम्झी,
सहनशीलताको पाठ पढाउने आमा।
यो उमेरमा पनि सोध्छु जब,
“आमा, हजुरलाई के चाहिन्छ?”
नम्र मुस्कानले भन्छिन् मात्र,
“तिमीहरु सन्चै भए पुग्छ!”
न नयाँ कपडा, न गहना,
न कुनै ठूलो महलको चाह।
सन्तान खुसी देख्न पाउँदा,
उनी भन्छिन्, “सब थोक प्रसस्त छ यहाँ।”
मेरो हाँसोमा हाँस्ने आमा,
मेरो दुःखमा आँसु झार्ने आमा।
मेरो जितमा गर्व गर्ने आमा,
मेरो हारमा साहस दिने आमा।
सन्तानको खुशीमा रमाउने मेरी आमा,
लाग्छ, संसारकै एक महान आमा।
मन्दिरको देवी, स्वर्गकी परी,
मेरा लागि त साक्षात् भगवान आमा!
कति ऋण लागेको होला आमा,
तपाईंको माया, तपाईँको गुन,
जीवनभरि कोशिश गरे पनि,
तपाईँको ऋण तिर्न सक्दिन म कुन?
तपाईँको त्यो ममताको सुगन्ध,
सारा जन्मभरि साथ रहोस्।
मेरो मुटुमा बास गरिरहोस्,
मेरो साससँगै अमर रहोस्।
मेरी आमा प्रती समर्पित,
लेखक-: सुर्जन रोकाया
स्थायी ठेगान-: पलाँता गाउँपालिका ८, कालिकोट
हाल- बिरेन्द्रनगर, सुर्खेत नेपाल ।









प्रतिक्रिया दिनुहोस्