२०८२ फाल्गुन २४ गते आइतवार

नरहरिनाथमा छैटौँ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु



कालिकोट । नरहरिनाथ गाउँपालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज एक औपचारिक कार्यक्रमका बीच सुरु भएको छ। प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र बिष्टले गर्नुभएको हो।
उद्घाटन समारोहमा विशेष अतिथिका रूपमा गाउँपालिका उपाध्यक्ष कमल बहादुर शाहको उपस्थिति समेत रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख तथा विशेष अतिथिहरूले खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा नैतिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको थियो।
यसै वर्ष आयोजना हुने कालिकोट जिल्ला स्तरीय १७औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पनि नरहरिनाथ गाउँपालिकाकै सह–आयोजनामा सम्पन्न हुने भएको छ।
प्रतियोगिताअन्तर्गत पहिलो दिन ८०० मिटर दौड छात्र तथा छात्रा तर्फका खेलहरू सम्पन्न भएका छन्। छात्र तर्फ जनता माध्यमिक विद्यालय रुप्साले प्रथम स्थान हासिल गरेको छ भने नन्दादेवी माध्यमिक विद्यालय कोटवाडाले दोस्रो र जनता माध्यमिक विद्यालय रुप्साले तेस्रो स्थान प्राप्त गरेका छन्।
त्यस्तै छात्रा तर्फ जनता माध्यमिक विद्यालय रुप्साले प्रथम, जनप्रभात माध्यमिक विद्यालय लालुले दोस्रो तथा रुपादेवी माध्यमिक विद्यालय उच्छवले तेस्रो स्थान हासिल गरेका छन्।
उक्त विजेता टिम तथा खेलाडीहरूलाई नेपाली कांग्रेस नरहरिनाथ गाउँपालिका सभापति राम बहादुर बटाला ज्यूद्वारा मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो।
आयोजकका अनुसार प्रतियोगिताले गाउँपालिका तथा जिल्लास्तरमा खेलकुद प्रतिभा पहिचान र विकासमा टेवा पुर्‍याउने विश्वास लिइएको छ ।

प्रकाशित मिति : २०८२ पुष २४ गते बिहिवार