कालिकोट, जेठ १९ ।
नेपाल क्रिकेट संघ (CAN) कालिकोटको आयोजनामा तथा महावै गाउँपालिका, ओदा फाउन्डेसन र प्रदिया फाउन्डेसनको आर्थिक सहयोगमा जिल्ला स्तरीय पुरुष खुला टी–२० क्रिकेट प्रतियोगिता आजबाट सुरु भएको छ। प्रतियोगिताको उद्घाटन महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले एक विशेष समारोहका बीच गरेका हुन्।
महावै गाउँपालिका–२ ओदामा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक, सामाजिक तथा खेलकुद क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा ओदा फाउन्डेसनका CEO करन सिंह तथा प्रदिया फाउन्डेसनका CEO ऐनबहादुर सिंह विशेष अतिथिका रूपमा सहभागी भएका हुनुहुन्थ्यो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष सिंहले ग्रामीण क्षेत्रमा खेलकुद गतिविधिले युवाहरूलाई सकारात्मक दिशातर्फ अग्रसर गराउने बताउनु भएको छ । भने क्रिकेट खेलको विकाससँगै प्रतिभावान खेलाडी उत्पादनमा यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको थियो।
प्रतियोगितामा जिल्लाभरबाट १४ वटा टोलीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ। तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको कार्यक्रम संयोजक निरक सिंहले जानकारी दिए।
प्रतियोगिताको विजेता टोलीलाई नगद ५५ हजार रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ भने उप–विजेता टोलीले नगद ३५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।
प्रतियोगिताले कालिकोटमा क्रिकेट खेलप्रतिको आकर्षण बढाउनुका साथै युवाहरूबीच भाइचारा, अनुशासन र खेल संस्कृतिको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
महावै–२ ओदा क्रिकेटमय बनेसँगै स्थानीय बासिन्दामा समेत उत्साह थपिएको देखिएको छ।









प्रतिक्रिया दिनुहोस्