२०८३ बैशाख २१ गते सोमवार

आरसिबीको ऐतिहासिक जित : १८ वर्षपछि आइपिएलको पहिलो उपाधि।



चैत्र २० — अन्ततः प्रतीक्षाको घडी टुङ्गियो। रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी)ले १८ वर्षको लामो यात्रापछि इण्डियन प्रिमियर लिग (आइपिएल)मा पहिलोपटक च्याम्पियन बन्न सफल भएको छ। मंगलबार नरेन्द्र मोदी क्रिकेट स्टेडियममा सम्पन्न रोमाञ्चक फाइनलमा आरसिबीले पञ्जाब किंग्सलाई ६ रनले पराजित गर्दै ऐतिहासिक उपाधि हात पारेको हो।

खेलको समग्र झलक

पहिले ब्याटिङ गर्दै आरसिबीले २० ओभरमा ९ विकेट गुमाउँदै १९० रनको चुनौतीपूर्ण योगफल खडा गर्‍यो। टस जितेर बलिङ रोजेको पञ्जाबका लागि कायल जेमीन्सन र अर्शदिप सिंहले समान ३ विकेट लिए। विराट कोहलीले ३५ बलमा ३ चौकासहित सर्वाधिक ४३ रन बनाए। कप्तान रजत पाटीदारले १६ बलमा २६ रन, लियम लिविङ्स्टोनले १५ बलमा २५ रन, र जितेश शर्माले १० बलमा २४ रन जोडे।

१९१ रनको लक्ष्य लिएर मैदान उत्रेको पञ्जाब निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रनमा समेटियो। शंसाक सिंहले विस्फोटक पारी खेले — ३० बलमा ३ चौका र ६ छक्काको सहयोगमा ६१ रन — तर टोलीलाई जितसम्म पुर्‍याउन सकेनन्। जोस इङ्लिसले ३९ रन बनाए। अन्य शीर्ष ब्याट्सम्यानहरू खासै टिक्न सकेनन्।

आरसिबीका बलरहरू प्रभावशाली देखिए। भुवनेश्वर कुमार र कुर्नाल पाण्ड्याले समान २ विकेट लिए भने रोमारियो शेफर्ड, जोस हेजलवुड, र यश दयालले १–१ विकेट हात पारे।

इतिहास रच्दै आरसिबी

यो जितसँगै आरसिबी आइपिएलको आठौँ फरक च्याम्पियन टोली बनेको छ। यसअघि उनीहरू सन् २००९, २०११ र २०१६ मा फाइनल पुगेर उपविजेता बनेका थिए। अन्ततः चौथो प्रयासमा उपाधि जितेर आरसिबीले आफ्नो समर्थकहरूलाई खुसी दिने मौका पाएको छ।

पञ्जाबको दोस्रो निराशा

पञ्जाब किंग्सका लागि यो दोस्रो पटक फाइनलमा हारको सामना हो। सन् २०१४ मा कोलकाता नाइटराइडर्ससँग पराजित भएको पञ्जाब फेरि पनि उपविजेतामै सीमित रह्यो।

यो जित आरसिबीका लागि मात्र नभई सम्पूर्ण आइपिएल इतिहासको लागि पनि विशेष छ — एक पुरानो टोलीले अन्ततः आफ्नो सपनाको उपाधि चुमेको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ २० गते मङ्गलवार