सुर्खेत। केन्द्रस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८३ मा कर्णाली प्रदेशले २ स्वर्ण, ५ रजत र १२ कांस्यसहित कुल १९ पदक जित्दै प्रतियोगिता सम्पन्न गरेको छ। पदक तालिका अनुसार कर्णाली प्रदेश सातौँ स्थानमा रहेको छ।
कर्णालीका लागि अनिल शाही ले पुरुष ३ हजार मिटर दौड मा स्वर्ण पदक जित्दै प्रदेशलाई गौरवान्वित बनाएका छन्। त्यस्तै भुपेन्द्र बुढा ले उशु विधा मा उत्कृष्ट प्रदर्शन गर्दै अर्को स्वर्ण पदक कर्णालीको खातामा थपेका छन्। यी दुई खेलाडीको स्वर्णिम सफलताले राष्ट्रिय प्रतियोगितामा कर्णालीको उपस्थिति बलियो बनाएको छ।
प्रतियोगितामा कर्णालीले २ स्वर्णसँगै ५ रजत तथा १२ कांस्य पदक जितेको हो। समग्रमा १९ पदक प्राप्त गरे पनि स्वर्ण पदकको आधारमा प्रदेश सातौँ स्थानमा सीमित रह्यो। यद्यपि सीमित स्रोत–साधन र चुनौतीपूर्ण भौगोलिक अवस्थाका बाबजुद कर्णालीका खेलाडीहरूले राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक प्रदर्शन गर्दै आफ्नो क्षमता प्रमाणित गरेका छन्।
यस वर्षको प्रतियोगितामा बागमती प्रदेश २२ स्वर्ण, २१ रजत र १३ कांस्यसहित कुल ५६ पदक जितेर पहिलो स्थानमा रह्यो। सुदूरपश्चिम प्रदेश ४२ पदकसहित दोस्रो तथा लुम्बिनी प्रदेश ४५ पदकसहित तेस्रो स्थानमा रह्यो।
कर्णालीका खेलाडीहरूले देखाएको प्रदर्शनले प्रदेशमा खेलकुदको सम्भावना उजागर गरेको छ। खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीको मेहनत र समर्पणका कारण कर्णालीले राष्ट्रिय प्रतियोगितामा आफ्नो उपस्थिति प्रभावकारी रूपमा दर्ज गराएको खेलकुदकर्मीहरूको भनाइ छ।
कर्णालीको पदक विवरण
🥇 स्वर्ण : २
🥈 रजत : ५
🥉 कांस्य : १२
कुल पदक : १९
समग्र स्थान : ७औँ
३ हजार मिटर दौडमा अनिल शाही र उशुमा भुपेन्द्र बुढाको स्वर्णिम सफलताले कर्णालीको खेलकुद इतिहासमा अर्को गौरवपूर्ण अध्याय थपेको छ।









प्रतिक्रिया दिनुहोस्