कालिकोट । रास्कोट नगरपालिका निवासी गोरख शाही कालिकोट जिल्ला भलिबल संघको अध्यक्षमा निर्वाचित हुनुभएको छ। लामो समयदेखि भलिबल खेलमा सक्रिय शाहीले खेलाडी हुँदै अहिले जिल्लाको भलिबल खेलको नेतृत्व गर्ने जिम्मेवारी पाउनुभएको हो।
शाहीले कक्षा ७ मा अध्ययन गर्दैगर्दा बि. स. २०६१ सालदेखि भलिबल खेलको यात्रा सुरु गर्नुभएको थियो। उहाँले रास्कोटस्थित बडीमालिका माध्यमिक विद्यालयबाट विद्यालयस्तरीय भलिबल खेल्दै आफ्नो खेलजीवन अघि बढाउनुभएको हो।
उहाँले २०६५ सालमा कालिकोट जिल्लाको सदरमुकाम मान्ममा आयोजित प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा माध्यमिक विद्यालयस्तरीय प्रतियोगितामा सहभागिता जनाउनुभएको थियो। विद्यालयस्तरबाट सुरु भएको उहाँको खेलयात्रा त्यसपछि जिल्लादेखि क्षेत्रीयस्तरसम्म विस्तार हुँदै गयो।
२०६८ सालमा मध्यपश्चिमाञ्चल विकास क्षेत्रको इलाकास्तरीय छनोट प्रतियोगिताबाट कालिकोट जिल्लाको प्रतिनिधित्व गर्दै क्षेत्रीय प्रतियोगितामा सहभागी हुनुभएका शाहीले लगातार पाँच वर्ष क्षेत्रीय खेलाडीका रूपमा खेल्नुभएको थियो।
क्षेत्रीयस्तरमा निरन्तर आफ्नो खेल क्षमता प्रस्तुत गर्दै अघि बढ्नुभएका शाहीले २०७५ सालमा नेपालगन्जमा आयोजित आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा राष्ट्रियस्तरको भलिबल खेल खेल्ने अवसरसमेत प्राप्त गर्नुभयो।
विद्यालयको खेलमैदानबाट सुरु भएको शाहीको भलिबल यात्रा स्थानीय, जिल्लास्तर हुँदै क्षेत्रीय र राष्ट्रियस्तरसम्म पुगेको छ। खेलाडीका रूपमा लामो अनुभव हासिल गर्नुभएका शाही पछिल्लो समय भलिबलको व्यवस्थापन र विकासमा समेत सक्रिय रहँदै आउनुभएको छ।
अब भने उहाँले कालिकोट जिल्ला भलिबल संघको अध्यक्षको जिम्मेवारी सम्हाल्दै जिल्लाको भलिबल विकासका लागि काम गर्ने अवसर पाउनुभएको छ। उहाँको खेलाडी जीवनको अनुभव र नेतृत्वले जिल्लामा रहेका प्रतिभावान खेलाडीको पहिचान, नयाँ खेलाडी उत्पादन, नियमित प्रतियोगिता सञ्चालन तथा कालिकोटको भलिबललाई प्रदेश र राष्ट्रियस्तरमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
कक्षा ७ बाट सुरु भएको भलिबल यात्रा राष्ट्रिय खेलकुद हुँदै जिल्ला संघको नेतृत्वसम्म आइपुगेका शाहीको यो यात्रा कालिकोटका नयाँ पुस्ताका खेलाडीका लागि समेत प्रेरणाको स्रोत बनेको छ।









प्रतिक्रिया दिनुहोस्