२०८३ बैशाख २२ गते मङ्गलवार

दसौं राष्ट्रिय खेलकुद चैतमा हुने-राखेप



दशौं राष्ट्रिय खेलकुद २०८१ साल चैतमा कर्णाली प्रदेशमा हुने भएको छ । राष्ट्रिय खेलकुद चैतको २३ देखि ३० गते हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ।

राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा शुक्रबार बसेको १ सय १८ औं बोर्ड बैठकले उक्त निर्णाय गरेको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले जानकारी दिए ।

राष्ट्रिय खेलकुद प्रतियोगिता सन्चालन निर्देशन २०७९ संसोधनसहित बैठकले अनुमोदन गरेको सदस्य सचिव घिसिङले बताए । उनले भने,’ निर्देशिका संसोधनसहित अनुमोदन भएको छ ! अब खेलकुद मन्त्रालयमार्फत संबन्धित निकायहुँदै मन्त्री परिषदबाट पास गर्ने अभ्यास छ।’

यसअघि राखेपले दशौं राष्ट्रिय खेलकुद गत मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमै गर्ने गरी प्रस्ताव गर्ने निर्णाय गरेको थियो । सरकारले दसौंका लागि ६० करोड रुपैयाँ विनियोजन गरेको छ।

गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदको समापनका दिन २०७९ साल कात्तिक २ गते बसेको राखेपको १ सय १५ औं बोर्ड बैठकले उक्त मितिमा दशौं राष्ट्रिय खेलकुद कर्णालीमा गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २०८१ मङ्सिर २१ गते शुक्रवार