२०८३ जेष्ठ १८ गते सोमवार

रास्कोटमा निःशुल्क स्वास्थ्य तथा अपाङ्गता परीक्षण घुम्ती शिविर उद्घाटन



कालिकोट — अपाङ्ग अस्पताल तथा पुनर्स्थापना विकास केन्द्र, बनेपा (HRDC) को समन्वय तथा रास्कोट नगरपालिकाको आयोजनामा रास्कोट अस्पताल आर.सि.वि. बजारमा निःशुल्क स्वास्थ्य तथा अपाङ्गता परीक्षण घुम्ती शिविर सञ्चालन गरिएको छ।
शिविरको उद्घाटन रास्कोट नगरपालिकाका नगर प्रमुख धर्मराज शाहीले गर्नुभएको हो। उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख शाहीले ग्रामीण क्षेत्रमा रहेका अपाङ्गता भएका तथा स्वास्थ्य समस्याबाट पीडित नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको बताउनुभयो।
शिविरमार्फत विभिन्न शारीरिक समस्याबाट पीडित नागरिकहरूको स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक सेवाहरू प्रदान गरिएको आयोजकले जनाएको छ। साथै अपाङ्गता भएका व्यक्तिहरूको पहिचान, उपचार तथा पुनर्स्थापनामा विशेष ध्यान दिइएको छ।
यसै अवसरमा रास्कोट नगरपालिका–५ ठुलो विजयपुर निवासी विडकि शाही र रास्कोट–७ निवासी मिना कुमारी वमलाई निःशुल्क कृत्रिम खुट्टा हस्तान्तरण गरिएको छ। कृत्रिम खुट्टा पाएपछि उनीहरूले सहज रूपमा दैनिक जीवनयापन गर्न सक्ने विश्वास व्यक्त गरेका छन्।
त्यसैगरी जटिल समस्यामा रहेका बिरामीहरूलाई थप उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थामा Referral गर्ने व्यवस्था समेत गरिएको शिविरमा जानकारी दिइएको छ।
ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै अपाङ्गता भएका व्यक्तिहरूलाई राहत पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको उक्त शिविरप्रति स्थानीयवासीले सकारात्मक प्रतिक्रिया दिएका छन्।

प्रकाशित मिति : २०८३ जेष्ठ १ गते शुक्रवार