२०८३ भाद्र २६ गते शुक्रवार

बाढीपीडितका लागि रास्कोटका जनप्रतिनिधिले आफ्नो सेवा–सुविधाबाट ३ लाख ५१ हजार दिने



कालिकोट — रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लाका तटीय क्षेत्रमा भएको जनधनको क्षतिप्रति रास्कोट नगरपालिकाका जनप्रतिनिधिले दुःख व्यक्त गर्दै बाढीपीडितका लागि रु. ३ लाख ५१ हजार सहयोग गर्ने निर्णय गरेका छन्।

नगरपालिकाका जनप्रतिनिधिहरूले विपत्तिमा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र आपसी एकताको भावनासहित नगर प्रमुख र उपप्रमुखले आफूले प्राप्त गर्ने एक–एक महिनाको सेवा–सुविधा तथा वडाध्यक्ष, वडा सदस्यलगायत जनप्रतिनिधिले प्राप्त गर्ने आधा महिनाको सेवा–सुविधा बराबरको रकम जम्मा गरी कुल रु. ३ लाख ५१ हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोगस्वरूप जम्मा गर्ने निर्णय गरिएको हो।
नगरपालिकाले आर्थिक रूपमा सहयोग सानो भए पनि यसमा जोडिएको मानवीय भावना, सहानुभूति, अपनत्व र ऐक्यबद्धता महत्वपूर्ण रहेको जनाएको छ।
बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले गरिएको उक्त सहयोगले पीडित परिवारलाई आफूहरू एक्लो नभएको र विपत्तिको समयमा देश तथा समाज उनीहरूको साथमा रहेको अनुभूति गराउने अपेक्षा गरिएको छ।
रास्कोट नगरपालिकाले बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित सम्पूर्ण नागरिकप्रति ऐक्यबद्धता प्रकट गर्दै उद्धार, राहत र पुनःस्थापनाका कार्यमा सबै पक्षबाट सहयोग र सहकार्यका लागि समेत अपिल गरेको छ।

प्रकाशित मिति : २०८३ भाद्र १६ गते मङ्गलवार