२०८३ बैशाख २२ गते मङ्गलवार

खाडाँचक्र नगरपालिकामा ९ महिनादेखि तलब नपाएका करार कर्मचारी र उपभोक्ता समितिबाट तालाबन्दी।



खाडाँचक्र, कालिकोट – करिब ९ महिनादेखि तलब नपाएको गुनासो गर्दै खाडाँचक्र नगरपालिकाका करार सेवाका कर्मचारी र उपभोक्ता समितिले मंगलबार बिहान नगर कार्यपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन्। तलब र सेवा सुविधा नपाएकोमा आक्रोशित उनीहरूले कार्यालयको मुख्य ढोका थुन्दै नगरपालिका प्रशासनको कामकाज पूर्ण रूपमा ठप्प पारेका हुन्।

तालाबन्दीमा संलग्न करार कर्मचारीहरूले बारम्बार ध्यानाकर्षण गराउँदा पनि नगरपालिकाले तलब नदिएको आरोप लगाएका छन्। “न काममा कमी थियो, न जिम्मेवारीमा। तर महिनौंदेखि तलब नपाउँदा परिवार पाल्नै हम्मे परिरहेको छ,” एक जना महिला स्वास्थ्य स्वयंसेविका भावुक हुँदै भन्छिन्, “बिना पारिश्रमिक कति दिन काम गर्ने?”

उपभोक्ता समितिका सदस्यहरू पनि निर्माणाधीन योजनाहरूको भुक्तानी नपाएको भन्दै तालाबन्दीमा सहभागी भएका छन्। उनीहरूले काम सम्पन्न भएको लामो समय बितिसक्दा पनि योजना रकम नपाएको गुनासो गरेका छन्।

तालाबन्दीपछि नगरपालिकाको सेवा प्रवाह ठप्प भएको छ। नागरिकले शैक्षिक प्रमाणपत्र सिफारिस, जन्मदर्ता, नागरिकता सिफारिस जस्ता दैनिक सेवा लिन नपाउँदा सेवा प्रभावित बनेको छ।

प्रकाशित मिति : २०८२ बैशाख १० गते बुधवार