२०८३ भाद्र २६ गते शुक्रवार

रास्कोटबाट सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार



कालीकोट । कालीकोटको रास्कोट नगरपालिकास्थित प्रादेशिक रणनीतिक अस्पतालमा उपचाररत एक सुत्केरी महिलाको अवस्था जटिल बनेपछि हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि सुर्खेत पठाइएको छ ।
सान्नीत्रिवेणी गाउँपालिका–७ निवासी नहकुल सिम्खाडाकी २१ वर्षीया श्रीमती बिनिता प्याकुरेललाई लामो समयसम्म प्रसूति व्यथा लाग्दा पनि प्रसव प्रक्रिया अघि नबढेपछि बिहीबार राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हवाई उद्धार गरिएको हो ।
अस्पतालमा उपचारका क्रममा लामो समयसम्म प्रसूति प्रक्रिया अघि नबढ्नुका साथै गर्भमा रहेको बच्चाको मुटुको धड्कनसमेत अनियन्त्रित देखिएपछि आमा र बच्चा दुवैको स्वास्थ्य जोखिममा परेको थियो ।
अवस्था थप जटिल बन्दै गएपछि तत्काल विशेषज्ञ उपचार आवश्यक देखिएकाले बिनितालाई हेलिकप्टरमार्फत सुर्खेत पठाइएको प्रादेशिक रणनीतिक रास्कोट अस्पतालका स्वास्थ्य बीमा प्रमुख तुलराज उपाध्यायले जानकारी दिनुभयो ।
बिनिताको उद्धारका लागि सान्नीत्रिवेणी गाउँपालिकाले आवश्यक पहल गरेको थियो । गाउँपालिकाकी उपाध्यक्ष पार्वती सिंह (सञ्ज्याल) ले आमा र बच्चाको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै समयमै उद्धारका लागि पहल गरिदिएकोमा कालीकोटका प्रमुख जिल्ला अधिकारीप्रति आभार व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “कालीकोट जिल्लाका प्रमुख जिल्ला अधिकारीले हाम्रो अनुरोधलाई स्वीकार गर्दै आमा र बच्चाको स्वास्थ्य अवस्थाप्रति गम्भीर चासो देखाई समयमै उद्धारका लागि आवश्यक पहल गरिदिनुभएकोमा हार्दिक आभार व्यक्त गर्दछौँ ।”
उपाध्यक्ष सञ्ज्यालले विपद् तथा स्वास्थ्यसम्बन्धी गम्भीर अवस्थामा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय र समयमै हुने पहलले नागरिकको जीवन जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
दुर्गम क्षेत्रमा गर्भवती तथा सुत्केरी महिलालाई जटिल अवस्थामा तत्काल उपचारको पहुँचमा पुर्‍याउने उद्देश्यले राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हवाई उद्धार सेवा सञ्चालन हुँदै आएको छ ।
बिनिताको समयमै गरिएको हवाई उद्धारले दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाका लागि आपत्कालीन स्वास्थ्य सेवाको पहुँच विस्तारसँगै हवाई उद्धार सेवाको महत्वसमेत उजागर गरेको छ ।

प्रकाशित मिति : २०८३ भाद्र ४ गते बिहिवार