२०८३ भाद्र २६ गते शुक्रवार

कालिकोट महावै गाउँपालिकाले विपद् प्रभावितका लागि २ लाख रुपैयाँ सहयोग गर्ने



कालिकोट । रसुवा तथा आसपासका क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति महावै गाउँपालिकाले दुःख व्यक्त गर्दै विपद् प्रभावितका लागि आर्थिक सहयोग गर्ने भएको छ।
महावै गाउँपालिकाले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. २ लाख जम्मा गर्ने निर्णय गरेको छ। गाउँपालिकाले बाढीमा परी बेपत्ता भएका व्यक्तिहरूको शीघ्र खोजी, घाइतेको सहज उपचार तथा विस्थापित परिवारको सुरक्षित पुनःस्थापनाका लागि सम्बन्धित निकायलाई आग्रहसमेत गरेको छ।
गाउँपालिकाले प्राकृतिक विपद्को यस दुःखद् घडीमा प्रभावित परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ।
यसैबीच, गाउँपालिकाले घटनाको शोकमा २०८३ भदौ ११ गते बिहीबार गाउँपालिकाअन्तर्गतका सम्पूर्ण वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेक एक दिन शोक बिदा दिने निर्णय गरेको जनाएको छ।

प्रकाशित मिति : २०८३ भाद्र ११ गते बिहिवार