२०८३ साउन १२ गते मङ्गलवार

सेवा प्रवाह प्रभावकारी बनाउन नवप्रवेशी सुपरभाइजरलाई सेवा प्रवेश तालिम



सुर्खेत, श्रावण ४। नेपाल विद्युत प्राधिकरणको आयोजनामा वीरेन्द्रनगरस्थित कर्णाली प्रशिक्षण प्रतिष्ठानमा नवप्रवेशी इलेक्ट्रिकल तथा मेकानिकल सुपरभाइजरहरूका लागि सञ्चालन गरिएको चारदिने सेवा प्रवेश तालिम सम्पन्न भएको छ।
नवनियुक्त कर्मचारीहरूलाई नेपाल विद्युत प्राधिकरणको संगठनात्मक संस्कृति, कार्यप्रणाली, सेवामुखी सोच तथा नयाँ कार्य वातावरणसँग परिचित गराई जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न सक्षम बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको नेपाल विद्युत प्राधिकरणका निर्देशक मोतीलाल महताराले जानकारी दिनुभयो।
उहाँका अनुसार दक्ष, अनुशासित र सेवाग्राहीमैत्री जनशक्ति तयार पार्नु प्राधिकरणको प्रमुख प्राथमिकता हो। सेवा प्रवेश तालिमले कर्मचारीहरूलाई संस्थागत मूल्य–मान्यता, व्यावसायिक आचरण, कार्यसम्पादन क्षमता र जिम्मेवारीबोध अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
तालिम समापन कार्यक्रममा सहभागीहरूको तर्फबाट ऋषि सापकोटा, विन्दु खड्का र मनोज कुमार यादवले मन्तव्य राख्दै तालिमले आफ्नो ज्ञान, सीप र कार्यसम्पादन क्षमतामा सकारात्मक प्रभाव पारेको बताए। उनीहरूले यस्ता व्यवहारिक तथा क्षमता अभिवृद्धिमूलक तालिमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने सुझाव दिएका थिए।
समापन कार्यक्रममा बोल्दै सुर्खेत वितरण केन्द्रका प्रमुख किरण खनालले नवप्रवेशी कर्मचारीहरूले सेवाग्राहीको विश्वास जित्ने गरी जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले ग्राहकका गुनासा तथा समस्यालाई छिटोछरितो रूपमा समाधान गर्दै गुणस्तरीय, पारदर्शी र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो।
त्यसैगरी निर्देशक मोतीलाल महताराले नेपाल विद्युत प्राधिकरणप्रति नागरिकको विश्वास अझ बलियो बनाउन कर्मचारीहरूको इमान्दारिता, अनुशासन, सकारात्मक सोच र सेवाभाव अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। उहाँले नयाँ सोच, नयाँ संस्कार र जिम्मेवार कार्यशैलीमार्फत संस्थाको गरिमा अभिवृद्धिमा योगदान पुर्‍याउन नवप्रवेशी कर्मचारीहरूलाई प्रेरित गर्नुभयो।
चार दिनसम्म सञ्चालन भएको तालिममा संगठनात्मक संस्कृति, कार्यालय व्यवस्थापन, व्यावसायिक आचरण, कार्यस्थल सुरक्षा, प्राविधिक जिम्मेवारी, प्रभावकारी सञ्चार, सेवाग्राहीसँगको व्यवहार तथा गुणस्तरीय सेवा प्रवाहसम्बन्धी विभिन्न विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रमको अन्त्यमा तालिममा सहभागी ६८ जना नवप्रवेशी इलेक्ट्रिकल तथा मेकानिकल सुपरभाइजरहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। आयोजकका अनुसार यस्ता तालिमले दक्ष, जिम्मेवार र सेवामुखी जनशक्ति उत्पादन गर्दै विद्युत सेवाको गुणस्तर सुधार गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ साउन ४ गते सोमवार