कालीकोट,जेष्ठ २७ — अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण कर्णाली करिडोर अन्तर्गत खुलालुदेखि बाजुरा सीमास्थित लैफुसम्मको सडकखण्ड गम्भीर रूपमा क्षतिग्रस्त बनेको छ। सडकमा ठूलो मात्रामा ढुंगा, माटो र पहिरो खसेपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको स्थानीयले बताएका छन्।
सडक अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका छन् भने बिरामी तथा अत्यावश्यक कामका लागि यात्रा गर्ने नागरिकहरू थप समस्यामा परेका छन्। प्रभावित क्षेत्रमा सडक खुलाउन प्रयास भइरहेको भए पनि मार्ग सञ्चालनमा आउन अझै एक–दुई दिन लाग्न सक्ने अनुमान गरिएको छ।
स्थानीयवासीले यस अवधिमा अत्यावश्यक बाहेक कुनै पनि यात्रा नगर्न अनुरोध गरेका छन्। साथै, सडक मर्मत तथा अवरोध हटाउने कार्यमा सम्बन्धित निकायको ध्यान पर्याप्त रूपमा नपुगेको भन्दै स्थानीयले गुनासो गरेका छन्।
कर्णाली करिडोर प्रदेश तथा सुदूरपश्चिमलाई जोड्ने महत्वपूर्ण सडक भएकाले यसको अवरोधले दैनिक जनजीवन तथा आवतजावतमा प्रत्यक्ष असर परेको छ। स्थानीय तथा यात्रुहरूले शीघ्र सडक सञ्चालनको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।









प्रतिक्रिया दिनुहोस्