२०८३ बैशाख २२ गते मङ्गलवार

पलाँता गाउँपालिका–२ मा माओवादी केन्द्रको तेस्रो सम्मेलन सम्पन्न



धनकर्ण विश्वकर्मा-पलाँता, कालिकोट ।
“जनजनमा माओवादी, घरघरमा माओवादी” भन्ने मूल नाराका साथ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पलाँता गाउँपालिकाको तेस्रो गाउँ सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ। पार्टीको स्थानीय तहको संगठन विस्तार र सुदृढीकरणको उद्देश्यले गरिएको सम्मेलनमा विभिन्न तहका नेताहरूको सक्रिय उपस्थितिमा नयाँ नेतृत्व चयन गरिएको छ।

सम्मेलनको प्रमुख आतिथ्य पार्टीका पलाँता गाउँपालिका अध्यक्ष ऐनराज महताराको रहेको थियो। त्यस्तै, माओवादी केन्द्र कर्णाली प्रदेश समिति अन्तर्गतका जिल्ला सदस्य विरी विश्वकर्मा, पलाँता गाउँ कमिटी उपाध्यक्ष देब विश्वकर्मा, पार्टी सचिव एवं युवा नेता सर्जन बुढा, पार्टी कोषाध्यक्ष तथा वडा नं. २ का वडाध्यक्ष भिमप्रसाद न्यौपानेलगायत नेताहरूको विशेष उपस्थिति रहेको थियो।

सो अवसरमा विभिन्न राजनीतिक प्रशिक्षण तथा संगठनात्मक सत्रहरू सम्पन्न गर्दै पार्टीको आगामी रणनीति, सैद्धान्तिक मार्गदर्शन, र जनस्तरसँगको सम्बन्ध विस्तारको योजना प्रस्तुत गरिएको थियो। सम्मेलनको समापन सत्रमा सर्वसम्मत रूपमा मान वहादुर सार्कीको अध्यक्षतामा २९ सदस्यीय नयाँ गाउँ कमिटी चयन गरिएको छ।

नयाँ कार्यसमितिमा उपाध्यक्षमा अप्सरा प्याकुरेल, तपेन्द्र दमाई र धनकन्न न्यौपाने चयन भएका छन् भने सचिवको भूमिकामा गोरे न्यौपाने चयन भएका छन्। सह-सचिवमा सूर्य विश्वकर्मा, धनलाल प्याकुरेल र अंखराज बुढा छन्। कोषाध्यक्षको जिम्मेवारी जना न्यौपाने प्याकुरेललाई दिइएको छ।

यस कार्यसमितिले पलाँता गाउँपालिकालाई माओवादी विचारधाराले पूर्ण रूपमा समेट्ने प्रतिबद्धता व्यक्त गर्दै संगठन विस्तार र जनमुखी कार्यक्रमहरू मार्फत जनताको विश्वास जित्ने संकल्प व्यक्त गरेको छ।

नवनिर्वाचित अध्यक्ष सार्कीले सम्मेलनपछिको आफ्नो मन्तव्यमा पार्टी संगठनलाई गाउँ–गाउँमा बलियो बनाउँदै युवालाई अग्रसर गराउने योजनामा आफूहरू लागिपर्ने बताए। सम्मेलनले संगठनात्मक एकता, जनसम्बन्ध विस्तार, र स्थानीय विकासका सवालमा माओवादी केन्द्रको भूमिका अझ प्रभावकारी बनाउने रणनीति लिएको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ २६ गते सोमवार