कालिकोटको रास्कोट नगरपालिकामा स्थापना गरिएको इलाका प्रशासन कार्यालयबाट सोमबारदेखि औपचारिक रूपमा सेवा सुरु हुने भएको छ।
नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले गत माघ ११ गते गरेको निर्णयअनुसार स्थापना गरिएको उक्त कार्यालयले पहिलो पटक स्थानीय स्तरमै प्रशासनिक सेवा प्रवाह गर्न लागेको हो। अब यस कार्यालयमार्फत नागरिकता तथा राष्ट्रिय परिचयपत्रका लागि आवेदन संकलन, कार्ड वितरण लगायतका अत्यावश्यक सेवा उपलब्ध हुनेछन्।
सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माका अनुसार जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने सेवाहरूलाई अझ छिटो, सहज र पहुँचयोग्य बनाउन रास्कोटमै सेवा विस्तार गरिएको हो। उनका अनुसार यसबाट रास्कोट नगरपालिका सहित पलाँता, पचालझरना र सान्नीत्रिवेणी गाउँपालिकाका नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।
“यस व्यवस्थाले सेवाग्राहीले लामो दूरी पार गरेर जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यता अन्त्य गर्दै सहज रूपमा सेवा प्राप्त गर्ने वातावरण बनाउनेछ। करिब ५० हजार नागरिक यसबाट लाभान्वित हुने अपेक्षा गरिएको छ,” सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए।
यसैगरी, रास्कोट नगरप्रमुख धर्मराज शाहीले लामो समयदेखि स्थानीय बासिन्दाले राख्दै आएको माग पूरा भएकोमा खुसी व्यक्त गरे।
“इलाका प्रशासन कार्यालय स्थापना गरी सेवा सञ्चालन गर्नुपर्ने माग हामीले धेरै अघिदेखि गर्दै आएका थियौँ। अब त्यो माग सम्बोधन भएको छ,” उनले भने, “यसबाट स्थानीय नागरिकलाई सदरमुकाम धाउनुपर्ने बाध्यता हट्दै समय, खर्च तथा अन्य झन्झटहरू पनि घट्नेछन्।”









प्रतिक्रिया दिनुहोस्