२०८३ बैशाख ३ गते बिहिवार

रास्कोटमा शल्यक्रिया सेवा सुरु गर्ने तयारी, नगरपालिका–NSIबीच समन्वय बैठक सम्पन्न



कालिकोट — रास्कोट नगरपालिकामा आधारभूत तथा आपतकालीन शल्यक्रिया सेवा सुरु गर्ने तयारी स्वरूप रास्कोट नगरपालिका र निक साइमन्स इन्स्टिच्युट (NSI) बीच समन्वयात्मक बैठक सम्पन्न भएको छ। बैठकले आगामी आर्थिक वर्षदेखि नगर क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्दै शल्यक्रिया सेवा सञ्चालन गर्ने सहमति जनाएको छ।
नगरपालिका र NSI बीच लामो समयदेखि भइरहेको समन्वय, सम्पर्क र अथक प्रयासपछि अब रास्कोटमै सेवा प्रवाह हुने चरणमा पुगेको नगर प्रमुख धर्मराज शाहीले जनाउनु भएको छ। उनका अनुसार सिजेरियन (Cesarean Section) तथा एपेन्डिक्स जस्ता सामान्य शल्यक्रियाहरू अब स्थानीयस्तरमै उपलब्ध हुनेछन्, जसले बिरामीलाई जिल्ला बाहिर जानुपर्ने बाध्यता अन्त्य गर्ने अपेक्षा गरिएको छ।
हाल परियोजना अन्तर्गत आवश्यक पूर्वतयारीका रूपमा ‘एसेस्मेन्ट’, ‘एस्टिमेसन’ र ‘इभ्यालुएसन’ सम्बन्धी कामहरू अघि बढाइएको छ। स्वास्थ्य सेवा विस्तारका लागि आवश्यक पूर्वाधार, जनशक्ति र उपकरण व्यवस्थापनमा जोड दिइएको छ।
नगरपालिकाका अनुसार सेवा सुरु भएपछि रास्कोटसहित आसपासका क्षेत्रका नागरिकहरूले सहज र सुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नेछन्।

प्रकाशित मिति : २०८३ बैशाख ३ गते बिहिवार