कालिकोट — माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्पन्न गरी नतिजाको प्रतीक्षामा रहेका विद्यार्थीहरूलाई लक्षित गर्दै महावै गाउँपालिकाले बृहत् करियर अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। बैशाख २, २०८३ मा गाउँपालिकाको कार्यालय गैराखाडामा आयोजित उक्त कार्यक्रममा करिब २५० जना विद्यार्थी तथा अभिभावकको उल्लेखनीय सहभागिता रहेको थियो।
महावै गाउँपालिकाको आयोजना तथा वडा फाउण्डेसन र इको हिमालको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रमको उद्देश्य ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई करियरप्रति सचेत, सक्षम र आत्मविश्वासी बनाउनु रहेको आयोजकले जनाएको छ। कार्यक्रममा करियर योजना, सीप विकास, उद्यमशीलता, रोजगारीका अवसर तथा मानसिक स्वास्थ्य जस्ता विषयमा जानकारी प्रदान गरिएको थियो।
कार्यक्रमका प्रमुख वक्ता तथा गाउँपालिका अध्यक्ष खेम बहादुर सिंहले वर्तमान समय अत्यन्त प्रतिस्पर्धात्मक भएकाले विद्यार्थीहरूले आफ्नो रुचि, क्षमता र लक्ष्य स्पष्ट रूपमा पहिचान गरी सोहीअनुसार करियर छनोट गर्नुपर्नेमा जोड दिए। उनले परम्परागत सोचबाट बाहिर निस्केर प्राविधिक शिक्षा, व्यवसायिक सीप र उद्यमशीलता विकासतर्फ अग्रसर हुन आग्रह गर्दै “अबको युग सीप र सिर्जनशीलताको युग भएकाले जागिर खोज्ने होइन, सिर्जना गर्ने बन्नुपर्छ” भन्ने धारणा राखे।
त्यसैगरी, स्थानीय होटल व्यवसायी हर्ष रावतले सानो अवसरलाई पनि सदुपयोग गर्न सके सफलता सम्भव हुने उल्लेख गरे। उनले व्यवहारिक सीप, अनुशासन र निरन्तर मेहनतलाई सफलताको आधार मान्दै पढाइसँगै सीप विकासमा जोड दिनुपर्ने बताए।
कानुन व्यवसायी तथा मनोपरामर्श विज्ञ खडानन्द चौलागाईंले किशोरावस्थामा देखिने मानसिक तनाव, दबाब र सामाजिक चुनौतीबारे जानकारी दिँदै सकारात्मक सोच विकास गर्न र आवश्यक परेमा परामर्श लिन विद्यार्थीहरूलाई सुझाव दिए। साथै, अभिभावकलाई सन्तानको मनोभावना बुझेर सहयोगी भूमिका निर्वाह गर्न आग्रह गरे।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोकर्ण राज शुयलले राज्यबाट उपलब्ध छात्रवृत्ति, प्राविधिक शिक्षा, वैदेशिक रोजगारी तथा स्वरोजगारका अवसरबारे जानकारी गराउँदै अनुशासन, समय व्यवस्थापन र निरन्तर प्रयास सफलताको मुख्य आधार भएको बताए।
कार्यक्रममा सहभागी विद्यार्थी तथा अभिभावकहरूले यस्तो अभिमुखीकरणले भविष्यप्रति स्पष्टता ल्याउन सहयोग पुगेको प्रतिक्रिया दिएका छन्। महावै गाउँपालिकाले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।









प्रतिक्रिया दिनुहोस्