२०८२ फाल्गुन २४ गते आइतवार

उच्च रक्तस्रावले ग्रस्त महिलालाई पलाँताबाट हेलिकप्टरमार्फत उद्धार !



धनकर्ण विश्वकर्मा, कालीकोट |
कालीकोटको पलाँता गाउँपालिका–२ लार्फकी २८ वर्षीया पाल्कोशा दमाईको ज्यान जोखिममा परेको अवस्थामा हेलिकप्टरमार्फत उद्धार गरी प्रदेश अस्पताल कालागाउँ, सुर्खेतमा भर्ना गरिएको छ।

दमाईले लार्फकोटस्थित धौलागोह स्वास्थ्य चौकीमै नवजात शिशुको जन्म दिएकी थिइन्। तर, विगतमा दुईपटक सिजेरियन (शल्यक्रिया) मार्फत सन्तान जन्माइसकेकी उनीलाई यसपटक अत्यधिक रक्तस्राव हुन थालेपछि अवस्था जटिल बन्दै गएको थियो। शनिबार दिउँसो बेहोसजस्तै बनेकी उनलाई प्राथमिक उपचारपछि स्वास्थ्य चौकीका इञ्चार्ज विनोदकुमार न्यौपानेको नेतृत्वमा थप उपचारका लागि तुरुन्तै रिफर गर्न सिफारिस गरियो।

उद्धारको प्रक्रिया स्वास्थ्य चौकी धौलागोहको विशेष पहल, पलाँता गाउँपालिका, जिल्ला प्रशासन कार्यालय कालीकोट, तथा महिला राष्ट्रिय उत्थान कार्यक्रमको समन्वयमा सम्पन्न भएको हो। उद्धारका क्रममा नवजात शिशुसहित दमाईलाई हेलिकप्टरबाट सुर्खेत लगिएको थियो।

स्वास्थ्य चौकीका इञ्चार्ज न्यौपानेका अनुसार, यो लार्फ क्षेत्रमा पहिलोपटक हेलिकप्टरमार्फत सुत्केरी महिला र शिशुको उद्धार गरिएको घटना हो।

उक्त कार्यप्रति स्थानीय बासिन्दाहरूले गहिरो आभार प्रकट गर्दै विकट गाउँमा यस्ता आकस्मिक उद्धार सेवाले नागरिकमा सरकारप्रति विश्वास बढाएको बताएका छन्। विशेषगरी महिला राष्ट्रिय उत्थान कार्यक्रममार्फत विपन्न र संकटमा परेका परिवारलाई ज्यानमारा अवस्थाबाट सुरक्षित पार्न गरिएको पहल निकै सराहनीय रहेको जनाइएको छ।

हाल पाल्कोशा दमाईको उपचार सुर्खेतको प्रदेश अस्पतालमा जारी छ, र चिकित्सकहरूले अवस्था खतरामुक्त रहेको बताएका छन्।

प्रकाशित मिति : २०८२ जेष्ठ २७ गते मङ्गलवार