कालीकोट — रास्कोट अस्पतालमा निक सिमन्स इन्स्टिच्युट (NSI) का वरिष्ठ कार्यक्रम प्रबन्धक डा. काशिम शाहको नेतृत्वमा प्रादेशिक रणनीतिक अनुगमन सम्पन्न गरिएको छ। अनुगमन टोलीमा रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाही र उप–प्रमुख मनिराज बरालको समेत उल्लेखनीय सहभागिता रहेको थियो।
टोलीले अस्पतालमा प्रदान भइरहेको स्वास्थ्य सेवाको गुणस्तर, जनशक्ति, उपकरण, औषधि आपूर्ति तथा सेवा पहुँचको समग्र स्थिति अवलोकन गरेको हो। अस्पतालमा भइरहेको सेवा प्रवाह र सुधारका सम्भावनाहरूको समीक्षा गर्दै टोलीले आवश्यक सुझावहरू पनि प्रस्तुत गरेको छ।
कार्यक्रमका क्रममा डा. शाहले रास्कोट अस्पताललाई सुधार गरी स्थानीयवासीलाई गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले NSI निरन्तर काम गरिरहेको जानकारी दिनुभयो। साथै, नगर प्रमुख धर्मराज शाहीले नगरपालिकाको तर्फबाट अस्पताल विकासका लागि पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयो।
यस अनुगमन कार्यक्रमले रास्कोट अस्पतालको सेवा सुधार तथा दिगो स्वास्थ्य रणनीति निर्माणमा सकारात्मक टेवा पुर्याउने विश्वास लिइएको छ।









प्रतिक्रिया दिनुहोस्