कालिकोटको खाडाचक्र नगरपालिका–१० चौकिमा बिहे समारोहको रतौलीमा युवाहरूबीच दोहोरो झडप हुँदा एक युवकको ज्यान गएको छ।
साबिक पाखा गाविस चौकिमा आयोजित रतौली कार्यक्रममा खाडाचक्र–१० चौकिका र तिलागुफा नगरपालिका–७ छाप्रेका युवाहरूबीच विवाद भएको थियो। विवाद ग्याङ फाइटमा परिणत भएपछि कुटपिटको क्रममा तिलागुफा–७ छाप्रेका १७ वर्षीय राजेश शाही गम्भीर घाइते भए। उनलाई तत्काल उपचारका लागि लैजाने प्रयास गरिए पनि बाटोमै उनको मृत्यु भएको कालिकोट प्रहरी प्रमुख डीएसपी टेक बहादुर रावतले जानकारी दिएका छन्।
घटनाको खबर पाएलगत्तै डीएसपी रावत नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको थियो। हालसम्म तीन जनालाई नियन्त्रणमा लिइएको छ भने अन्य संलग्न व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
यस घटनाले स्थानीय समुदायमा त्रासको माहोल सिर्जना गरेको छ। प्रहरी प्रशासनले सुरक्षा व्यवस्था कडा पार्दै घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ।









प्रतिक्रिया दिनुहोस्